सिमरा,जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ्गलाई सोमवार एक कार्यक्रमबीच स्वागत गरेको छ । संघले परिचय तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर प्रहरी प्रमुख तामाङ्गको स्वागत गरेको हो ।
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले प्रहरी र व्यवसायीबीच सम्बन्ध राम्रो हुनुपर्ने र त्यसैको लागि भर्खरै जिल्लामा आउनुभएका प्रहरी प्रमुखको स्वागत गरिएको बताउनुभयो । उहाँले तामाङ्गको कार्यकालमा जिल्लाको शान्ति सुरक्षाको अवस्था थप मजबुद हुने विश्वास पनि व्यक्त गर्नुभयो ।जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले औद्योगिक करिडोरको वस्तुस्थिति र शान्ति सुरक्षाको अवस्थाबारे प्रहरी प्रमुखलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रहरी प्रमुख तामाङ्गलले जीतपुरसिमरा आर्थिक, सामाजिक एवम् रणनीतिक हिसाबले महत्वपूर्ण स्थान भएको बताउँदै उद्योगी व्यापारीको समस्या समाधान गर्नका साथै निजी क्षेत्रको उत्थानका लागि प्रहरी सदैव तत्पर रहेको बताउनुभयो । प्रहरी उपरीक्षक तामाङ्गले सुरक्षा बिना विकास र सम्वृद्धि सम्भव नभएको भन्दै आम व्यवसायी र नागरिकको सुरक्षामा कुनै कमी हुन नदिने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।कार्यक्रमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो ।