सिमरा,बाराको जीतपुरबाट माघ १७ गतेदेखि हराएका तीन वर्षीय बालक अंश चौधरी शनिवार दिउँसो मृत अवस्थामा भेटिएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ र वीरगञ्जमहानगरपालिका वडा नम्बर ३२ को बीचमा रहेको टेडा रोडको कियासोती खोलामा बालकको शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइवाको नेतृत्वमा रहेको प्रहरी टोली र सरसफाइकर्मीले बिहानदेखि कियासोती खोलाको पानी घटाएर फोहोर पन्छाउँदै खोजी गरेको थियो । खोजी गर्दै जाँदा बालकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो ।पानीमा डुबेको अवस्थामा भेटिएका बालकको शव सुन्निएको छ । उनको मृत्यु कहिले र कसरी भयो भन्ने खुल्न सकेको छैन । प्रहरी टोलीले बालकको शव परीक्षणका लागि कलैया अस्पताल पठाएको छ । प्रहरी नायब उपरीक्षक वाइवाले शव परीक्षण रिपोर्टबाट बालकको मृत्युको कारण खुल्ने जानकारी दिनुभएको छ ।

बालक भेटिएको स्थान पथलैया–वीरगञ्ज व्यापारिक मार्ग अन्तर्गत जीतपुर चोकबाट करिब आधा किलोमिटर पश्चिमतर्फ पर्दछ । १० दिनअघि हराएका बालकलाई सिसिटिभी फुटेजमा सोही क्षेत्रको वरपर हिडिरहेको अवस्थामा देखिएको थियो ।धेरै दिन बितिसक्दा पनि बालकको अवस्था पत्ता लाग्न नसकेपछि प्रहरीले खोलामा डुबेको हुनसक्ने आशंकामा खोजी थालेको हो । प्रहरीले यसअघि वीरगञ्जस्थित विपद् व्यवस्थापनमा रहेका तालिमप्राप्त कुकुर ल्याएर सो क्षेत्रमा बालकको खोजी समेत गरेको थियो । तालिमप्राप्त कुकुर खोलानजिकको सोही सडक हुँदै पश्चिमतर्फ गएको थियो ।रौतहटको दुर्गाभगवती गाउँपालिका १ घर भएका रितेश चौधरी र अञ्जली चौधरीले छोरा अंशलाई करिब डेढ महिनाअघि जीतपुरस्थित मामाघर पठाएका थिए । पाँच महिनाअघि छोरीलाई जन्म दिएकी अञ्जलीले दुई बच्चालाई एकैसाथ स्याहार गर्न गाह्रो भएपछि अंशलाई मामाघर पठाउनुभएको हो । मामाघरमा उनलाई हजुरआमाले रेखदेख गर्दैआउनुभएको थियो ।
आगनमा खेल्दै गरेको अवस्थामा बेपत्ता भएका अंश केही समयमा बजार क्षेत्रको सिसिटिभी क्यामरामा एक्लै दौडिरहेको अवस्थामा देखिएका थिए । घरवरपरको क्षेत्रमा खोजी गरिएपनि नभेटेपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएदेखि ईलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय जीतपुर, पथलैया चौकीका प्रहरी टोलीले बालकको खोजी गर्दैआएको थियो ।

Leave a Reply