कृष्ण मोहन साह
सेढवा – पर्सामा जिल्ला बन कार्यालय अन्तरगत रहेको राष्ट्रिय बन अहिले बन कै कर्मचारीकाे मिलोमतोमा व्यापक मात्रामा फडानी भैरहेको पाइएको छ । पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर २ अन्तरगत रहेको बसन्तपुर सव डिभिजन वन कार्यालय र पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरमा रहेको ईलाका बन कार्यालयको मातहतमा रहेको राष्ट्रिय बनमा व्यापक मात्रामा चोरी तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ ।
वन कार्यालयको कर्मचारी र तस्करहरुको मिलोमतोमा वनबाट व्यापक रुपमा काठ तस्करी हुने गरेको पाईएको छ । तस्करहरुले प्रति गोलिया दुई हजार देखि चार हजारसम्म वन कर्मचारीहरुलाई नजराना दिएर तस्करी गर्ने गरेको स्थानियले बताएका छन । त्यति मात्र नभई स्थानीय प्रहरी चौकीहरुलाई एक हजार देखि दुई हजारसम्म नजराना दिएर तस्करहरुले काठ तस्करी गर्ने गरेको नाम नबताउने सर्तमा एक तस्करले नै बताएका छन् ।
स्रोतका अनुसार बसन्तपुर सव डिभिजन वन कार्यालयका कर्मचारी र ईलाका बन कार्यालय रङ्पुरको कर्मचारीको मिलोमतोमा तस्करी हुनेगरेको बताएका छन् । तस्करहरुसंग मोटो रकम लियर तस्करी गराउने गरेको बताइएको छ । दिन्हु जसो बिहान बेलुका सो वन कार्यालय अन्तर्गतको वनबाट सालका काँचो रूख काटेर ल्याउने गरेको समाचार प्राप्त भएको छ ।
सो सेक्टर वनमा कार्यरत कर्मचारीकै मिलेमतोमा काठ चोरी-तस्करीको सेटिङ हुने र वेला- वेलामा काम देखाउन काठ बरामद गर्ने गरेको स्थानीयको भनाइ रहेको छ । डिभिजन वन कार्यालय अन्तर्गतको बसन्तपुर वन कार्यालयका क्षेत्रमा पर्ने अधिकांश इलाका बन कार्यालयका इन्चार्ज नबस्ने गरेकाले पनि वनमा हानि-नोक्सानी बढेको स्थानीयको भनाइ छ ।
यसैबीच पर्साको पर्सागढी नगरपालिकाबाट बन गस्ती टोलिले गएराती काठ सहित दुई वटा साइकल पक्राउ गरेको छ । सेक्टर बन कार्यालय मधुवन मथवलका सुपेदार प्रदिप तिमिल्सिनाको नेतृत्वमा गएको बन गस्ती टोलिले पर्सागढी नगरपालिका वडा नम्बर २ को गुलरिया गाउँ नजिकको जङ्गलमा गएराती दुई बजेको समयमा राष्ट्रिय बनबाट काचो सालको गोलिया काठ कटान गरि ल्याउदै गरेको अवस्था दुइवटा साइकल सहित दुई थान सालको गोलिया काठ १४ फिट पक्राउ गरेको हो ।
बन गस्ती टोलिलाइ देख्ने बितिकै तस्करहरुले काठ र साइकल छोडेर भागेकोले उनिहरुलाइ पक्राउ गर्न नसकिएको बन गस्ती टोलिले दाबी गरेको छ । पक्राउ गरिएको काठ र साइकललाई आवश्यक कार्वाहीको मधुवन मथवल सब डिभिजन बन कार्यालयमा राखिएको सुपेदार तिमिल्सिनाले जानकारी दिनुभयो ।