निजगढ,साउनको पहिलो सोमबार, बारा जिल्लासहित देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।हिन्दु धर्मावलम्बीले साउन महिना र सोमबारलाई भगवान् शिवको विशेष महिनाको रूपमा मान्दै आएका छन्।
यस दिन शिवजीको पूजा, आराधना र दर्शन गर्दा मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। यही विश्वासले गर्दा पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरूमा भक्तजनहरूको भीड लागेको हो। शास्त्रीय मान्यताअनुसार, साउनको सोमबार शिवलाई शुद्ध जल अर्पण गर्दा मनोकामना पूरा हुने विश्वास छ। व्रत सुरु गर्नेहरुले पनि साउने सोमबारको व्रत प्रारम्भ गर्छन्।

साउनको सोमबार व्रत बस्नाले मनको इच्छा पूरा हुनुका साथै अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।
जिल्लाको सिद्धेश्वर महादेव मन्दिर, कोल्हबीको काँटघाट र निजगढको पर्वतनाथ महादेव तथा वाक्यश्वर महादेव मन्दरमा बिहानैदेखि भक्तजनहरुको घुँईचो लागेको छ ।केही वर्ष पहिले कोल्हबीको काँटघाटमा रहेको महादेव मन्दिरमा मात्रै भीड लाग्ने गरेकोमा पछिल्ला वर्षहरुमा भने जिल्लाका अन्य शिवालयहरुमा पनि भिड लाग्न थालेको हो । काँटघाट मन्दिर परिसरमा भने हरेक वर्ष साउन महिनाभर मेला समेत लाग्न थालेको छ । विभिन्न जिल्लाका बोलबम यात्रुहरुले यहाँ आएर जल चढाउने गरेका छन ।मेलामा विभिन्न किसिमका खेलहरु तथा विभिन्न परिकारका ठेला तथा पसलहरु पनि राख्ने गरेका छन् । धार्मिक आस्था राख्नेहरु मन्दिरमा पूजा गर्न आउने गरेका छन्, भने मेला हेर्नेहरुको पनि उत्तिकै भीड हुने गरेको छ ।
काँटघाटमा श्रद्धालुहरुलाई जुस वितरण
निजगढ,आम जनता पार्टी निकटको युवा संगठन आईटी आर्मीको स्थापना दिवसमा सोमवार बाराको काँटघाँटस्थित महादेव मन्दिरमा श्रद्धालुहरुलाई जुस वितरण गरिएको छ । साउनको दोस्रो सोमबारको अवसरमा भक्तजनलाई सम्मानस्वरूप जुस र फलफूल वितरण गरिएको हो ।

संगठनको चौथो स्थापना दिवसको अवसरमा बारा जिल्लाको प्रसिद्ध धार्मिक स्थल काटघाट शिवालयमा साउन महिनाको दोस्रो सोमवार भक्तजन तथा मेलामा आएका सर्वसाधारणलाई १५० वटा जुस वितरण गरिएको छ।आम जनता पार्टी मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको विशेष उपस्थितिमा आईटी आर्मी बारा उपाध्यक्ष अरुण चौधरी, आम जनता पार्टी जिल्ला कार्यालय सदस्य अशोक लामा, जिल्ला अध्यक्ष राजकिशोर साह लगायतको जुस वितरणमा सहभागिता रहेको थियो ।

स्थानीयस्तरमा धार्मिक चेतना बढाउने र सेवाभावको सन्देश दिने उद्देश्यले जुस वितरण गरिएकोमा भक्तजन र स्थानीयले प्रशंसा गरेका छन् । साउन महिनाको सोमवार हिन्दू धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्व बोकेको दिन हो । उक्त दिन शिवालयहरुमा भगवान शिवको पूजा–अर्चना तथा व्रत गर्ने गरिन्छ।

Leave a Reply