सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगञ्जमा शनिवार निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय अमलेखगञ्ज र लायन्स क्लब अफ अमलेखगञ्जको सहकार्यमा वडा नम्बर २१ को कार्यालयले शिविरको आयोजना गरेको हो । शिविरमा वीरगञ्ज सामुदायिक आँखा केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।

वडा कार्यालयमा आयोजित शिविरमा ८० जनाको आँखा परीक्षण गरिएको र परीक्षण गरिएका मध्ये १५ जनामा मोतियाबिन्दुको समस्या देखिएको वडा अध्यक्ष सुवास श्रेष्ठले जानकारी दिनुभएको छ । मोतियाबिन्दु देखिएका बिरामीको मंगलबार निःशुल्क शल्यक्रिया गरिने समेत वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।शिविरमा मेडिकल संयोजक डा. महेश सिंह धामीको नेतृत्वमा रहेको टोलीले आँखा परीक्षण गरेको थियो । शिविर उद्घाटन कार्यक्रममा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।
















