वीरगञ्ज,भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा गएका पर्साका एक महिलासहित दुई पुरुष सम्पर्कविहीन भएका छन् ।पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा गाउँकी ४३ वर्षीय चन्दकिशोरी देवी, जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ विजवानिया निवासी ६५ वर्षीय रजु राउत अहिर र सोही ठाउँकी ६० वर्षीय उमाकान्त गिरी मेलामा भएको भागदौडको क्रममा आफन्तसंग छुट्टिएर सम्पर्कविहिन बनेका हुन ।

पर्साको पोखरिया नगरपालिका १ बनकटवा गाउँकी ४३ वर्षीय चन्दकिशोरी देवी गिरी महाकुम्भ मेलामा बुधवार बिहानदेखि सम्पर्कविहीन हुनुभएको हो । मेलामा भागदौड हुँदा उहाँ सम्पर्कविहिन हुनुभएको हो । उहाँसंगै महाकुम्भमा गएका स्थानीयले चन्द्रकिशोरी सम्पर्कविहिन भएको जानकारी दिएको वडा अध्यक्ष प्रमोद गिरीले बताउनुभयो । वडा अध्यक्ष गिरीका अनुसार चन्दकिशोरी देवीसँगै गाउँका ६÷७ जनाको टोली ६ दिनअघि प्रयागराजको महाकुम्भ मेलामा गएको थियो । पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युम्न चौहानले आफ्नो फेसबुक पेजमा चन्दकिशोरी देवीको तस्वीर पोस्ट गर्दै खोजी कार्यमा सहयोग गरिदिन अपिल गर्नुभएको छ । उहाँलाई फेला पार्ने व्यक्तिले ह्वाट्सएप नम्बर ९८०६८१८९४७ मा सम्पर्क गर्न प्रमुख चौहानले अनुरोध गर्नुभएको छ ।

यसैगरी पर्साको जगरनाथपुर गाउँपालिका ३ विजवानिया निवासी ६५ वर्षीय रजु राउत अहिर र ६० वर्षीय उमाकान्त गिरी पनि सम्पर्कविहीन भएका छन् । अहिरका नाती धनञ्जय यादवका अनुसार उनीहरु भागदौडका क्रममा हराएका हुन् । उनीहरू वीरगञ्जबाट माघ ४ गते बिटोर काँवर लिएर विभिन्न धार्मिक स्थलमा पूजा गर्दै महाकुम्भ पुगेका थिए ।
अहिर र गिरीसँगै रहेको टोलीले उनीहरूको खोजी कार्य गरिरहेको छ । भारतका स्थानीय सुरक्षाकर्मी र सरकारी अधिकारीहरूसँगको सहकार्यमा उनीहरूको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

Leave a Reply