कलैया,आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय बाराले मंगलवारदेखि बारा जिल्लामा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासन ऐन २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका २०७९ को प्रावधान अनुसार आदेश जारी गरिएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालद्वारा हस्ताक्षरित सूचना(पत्रमा बैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि बारा जिल्ला भरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को ओसारपसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको जनाइएको छ । यदि आदेशको पालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने पत्रमा उल्लेख गरिएको छ ।
सोही पत्रको बुँदा नं.२ मा मंगलवार राति १२ बजे देखि बैशाख ३० गते शुक्रवार सम्मका लागि जिल्लाका भारतीय सीमानाकासँग जोडिएका सिमाना पूर्ण रुपमा बन्द हुने जनाइएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै अनुमति प्राप्त बाहेकको सवारी साधन सञ्चालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यलय, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताउनु भयो ।
बैशाख २९ गते राति १२ बजेबाट बैशाख ३० गतेका दिन मतदान कार्य नसकिएसम्म एम्बुलेन्स, दुध तथा औषधी बोकेको सवारी साधन, खानेपानी ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता, अत्यावश्यक सेवा र कुटनीतिक नम्बर प्लेटका सवारी साधन र अनुमति प्राप्त बाहेकका सवारी साधन सञ्चालनमा निषेध गरिएको सूचनामा जनाइएको छ ।