वीरगञ्ज,पर्साका दुई वटा सरकारी कार्यालयमा बुधबारबाट स्तनपान कक्ष संचालनमा आएको छ ।वीरगञ्ज लेडिज सर्कल– ३ का महिलाहरुको सहयोगमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निर्माण गरिएको स्तनपान कक्षको शुभारम्भ गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा निर्माण भएको स्तनपान कक्षको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालयमा निर्माण भएको स्तनपान कक्षको उद्घाटन पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले गर्नुभएको हो ।करिब एक लाखको लागतमा स्तनपान कक्ष निर्माण भएको वीरगञ्ज लेडिज सर्कल– ३ का अध्यक्ष खुश्बु सिंघानियाले जानकारी दिनुभयो । काम विशेषले कार्यालयमा आएका महिलाहरुले बालबालिकालाई स्तनपान गराउनकालागि सहज वातावरण बनाउन स्तनपान कक्ष निर्माण गरिएको उहाँले बताउनुभयो ।
जिल्लाकै बढी चाप हुने उक्त कार्यालयहरुमा आउने महिलाहरुले स्तनपान गराउन समस्या भएको देखिएपछि स्तनपान कक्ष निर्माण गरी महिलाहरुलाई सुविधा उपलब्ध गराईएको अध्यक्ष सिंघानियाले बताउनुभयो ।


















