वीरगञ्ज,प्रेस सेन्टर नेपालले २१औँ स्थापना दिवस मंगलवार वीरगञ्जमा प्रभातफेरि र रक्तदान कार्यक्रमको आयोजना गरेर मनाएको छ ।प्रेस सेन्टर पर्साले वीरगञ्जको घण्टाघरबाट प्रभातफेरी निकालेर स्थापना दिवस मनाएको हो । प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा भएको प्रभातफेरी नगर परिक्रमा गर्दै पुनः घण्टाघरमै आएर टुङ्गिएको थियो ।प्रभातफेरिपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारको हकहित र पेशागत संरक्षणको लागि प्रेस सेन्टर सक्रिय संस्था भएको बताउनुभएको छ । उहाँले पत्रकारितालाई व्यवसायिकता बनाउनका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नागरिकका समस्यालाई उजागर गर्न र सुसुचित गराउने भूमिकालाई पूरा गर्ने कार्यमा एकढिक्का भएर लागेमा पत्रकारिता पनि व्यवसायिकता हुने र पेशागत समस्या सृजना नहुने उहाँको विश्वास छ ।कार्यक्रमलाई प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, सेन्टरका पर्सा जिल्ला निवर्तमान अध्यक्ष एवम् पत्रकार महासंघ मधेस प्रदेश सचिव दिपक गौतम, पत्रकार महासंघ पर्साका सचिव एवम् प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव मिरोज अहमद लगायतको उपस्थिति रहेको थियो ।
प्रभातफेरीसँगै प्रेस सेन्टरले आकस्मिक रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र वीरगञ्जमै भएको आकस्मिक रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवसहित २१ जनाले रक्तदान गरेका छन् ।विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ ।



















