निजगढ,निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवरले वडा नम्बर ४ मा रहेका गर्भवती र सुत्केरी महिलाको घरमै पुगेर पोषण तथा सरसफाइ सामग्री वितरण गर्नुभएको छ ।

वडाको कछडिया टोलमा रहेको स्वास्थ्य चौकीको आयोजनामा गरिएको कार्यक्रममा वडा अध्यक्ष कुवर बिहीबार गर्भवती तथा सुत्केरीको लागि प्रोटिन पाउडर, भिटामिन ए, आइरन चक्की, चुकाको औषधि र न्यानो कपडा बोकेर महिलाको घरघरमै पुग्नुभएको थियो । वडा कार्यालयको आर्थिक सहयोगमा स्वास्थ्य चौकीले गाउँका १७ जना महिलालाई सामग्री वितरण गरेको हो ।

वडा कार्यालयले सुरु गरेको गर्भवती तथा सुत्केरी पोषण कार्यक्रम प्रभावकारी भएको स्थानीय महिलाहरुले बताएका छन । कार्यक्रमबाट हालसम्म दुई दर्जन गर्भवती तथा सुत्केरी लाभान्वित बनेका छन । कार्यालयले वडाका करिव ४ दर्जन सुत्केरी तथा गर्भवतीलाई यो सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।

“सुत्केरी र गर्भवति अवस्थामा अतिविपन्न परिवारका महिलाले पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुन्छ, वडा अध्यक्ष कुवरले भन्नुभयो, त्यसैलाई महिलाको स्वास्थ्य अवस्था सुदृढ पार्ने उद्देश्यले कार्यक्रम शुरु गरिएको हो ।” उहाँले भन्नुभयो, अतिविपन्न परिवारलाई कार्यक्रमले राहत पुगेको छ ।

वडा कार्यालयले सुरुमा घरघरमा स्वास्थ्य स्वयंसेवक महिला खटाएर गर्भवती अवस्थामा स्वास्थ्य परीक्षण गराउन महिलालाई अभिप्रेरित पनि गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here