राजन कुमार बानिया
पोखरिया,साउन १ गते लागेपछि बारा र पर्सामा अझै कृषकहरुले धान रोप्न पाएका छैनन् । लामो समयदेखि पानी पनि नपरेको र चर्को घामले ब्याडमा तयार भइसकेका बीउका बेर्ना सुक्न थालेका छन् ।
वैकल्पिक सिंचाइ गरेर रोपिएका धानको बोट पनि पहेलिएर डड्न थालेका छन् । अन्नको भण्डार मानिने मधेस प्रदेशका आठ जिल्ला मध्ये पर्सामा अहिलेसम्म सबै भन्दा कम ४२ प्रतिशत मात्रै रोपाइँ भएको छ । असार मसान्तसम्ममा पर्सामा ४३ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख मुनिलाल प्रसादले बताउनुभयो । यसपाली समयमा पानी नपर्दा पर्साका किसानले धान रोप्न पाएका छैनन् । आकाशेपानीको भरपर्दा अहिलेसम्म पर्सामा ४३ प्रतिशत मात्र खेतमा रोपाइँ भएको हो ।
अघिल्लो वर्षको तुलनामा यो आधाभन्दा पनि कम हो । कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक सहायक सुरेश चौरसियाले आकाशे पानीको भरपर्दा आधाभन्दा बढि किसानले रोपाइँ गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार पर्सा जिल्लामा धान खेती ४७ हजार १ सय ३० हेक्टरमा हुने गरेको छ । ती मध्ये अगहनी धानको खेती ४६ हजार हेक्टरमा हुने गरेको चाौरसियाले बताउनुभयो ।
यसैगरी बारा जिल्लामा भने अहिलेसम्म ५० प्रतिशत रोपाइ भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताउनुभयो । कुल ४८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएको बारामा अहिलेसम्म त्यसको आधा मात्र रोपाइँ भएको उहाँले बताउनुभयो ।