निजगढ,बाराको निजगढमा “प्रथम निजगढ महोत्सव– २०८१” को शुक्रवारदेखि शुरु भएको छ । माघ ११ देखि २२ गतेसम्म सञ्चालन हुने महोत्सवको एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य अच्युत मैनाली र कृष्णकुमार श्रेष्ठ किसानले निजगढ ८ स्थित खयरघारी खेल मैदानमा उद्धघाटन गर्नुभएको छ ।
कृषि पर्यटन तथा औद्योगिक व्यापार, समृद्घिको आधार भन्ने मुख्य नाराका साथ उद्योग बाणिज्य संघ निजगढले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संघीय सरकारका गृहमन्त्री रमेश लेखक खराब मौसमका कारण सहभागी हुन नसकेपछि सांसद श्रेष्ठ र मैनालीले कार्यक्रमको उद्धघाटन गर्नुभएको हो ।उद्धघाटन कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले निजगढमा ईलाका प्रशासन कार्यालयसगै प्रहरी कार्यालयको स्तरोन्नति आवश्यक रहेको बताउदै काठमाण्डौं फास्ट ट्रयाक र अन्तराष्ट्रिय विमानस्थल निर्माण हुने र यसको लागि आफू जस्तो सुकै पहल गर्न पनि तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सांसद मैनालीले निजगढ कृषि, व्यापार र यातायात विकासको दृष्टिले अत्यन्त ठूलो संभावना युक्त क्षेत्र भएको बताउनुभयो ।कार्यक्रममा संविधान सभा सदस्य एंव पूर्वमन्त्री पुरुषोत्तम पौडेलले निजगढ प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको र विकासको प्रचुर संभावना बोकेको बताउनुभयो ।संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उद्योग बाणिज्य महासंघका अशोक टेमानी, जीतपुरसिमराका होटल व्यवसायी मोहन लामिछाने, नेपाली कांग्रेसका नेता शम्भुबहादुर बुढाथोकी लगायतले महोत्सवको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु ज्ञानेन्द्र चौलागाई, टेकबहादुर लामा, रामकृष्ण नेपाल, शम्भु बुढाथोकी लगायतकालाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा प्रदेश सभा सदस्य मिना लामा, त्रिलोकी चौधरी, जिल्ला समन्वय समितिकी उपसभापति चण्डिका उप्रेती सापकोटा, निजगढ उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायतको उपस्थिति रहेको थियो ।
निजगढमा पहिलो पटक महोत्सवको आयोजना भएको हो । महोत्सवमा दैनिक हजारौं व्यवसायी र सर्वसाधारणले अवलोकन तथा कारोबार गर्ने र यसबाट स्थानीय तथा स्वदेशी उत्पादनसंगै कला संस्कृतिको प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा राखिएको निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।यसअघि स्थानीय विद्यालयका छात्रछात्रा र विभिन्न जातजाति र धार्मिक समूदायले झाकी सहित नगर परिक्रमा गरेका थिए । आगामी २२ गतेसम्म संचालन हुने महोत्सवको व्यवस्थापन राजधानी राइड्स, काठमाण्डौंले गर्नेछ ।
यसैबीच महोत्सवमा बाल उद्यान, मनोरञ्जनका विभिन्न साधन, कृषि र औद्योगिक उत्पादनको बिक्री कक्ष र २ दर्जनभन्दा बढी ख्याति प्राप्त गायक र हास्य कलाकारहरुले प्रस्तुति दिनेछन ।महोत्सवमा शनिवार चर्चित दोहोरी गायक बद्री पङ्गेनी र राधिका हमालले प्रस्तुति दिएका थिए ।