वीरगन्ज,प्रहरीले बिल बिजकभन्दा बढी औषधि, लत्ताकपडा तथा खुद्रा सामाग्री लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका–६ लोहारपट्टी चोकबाट ना.३ ख २७७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजकभन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधि लगायतका सामानहरू बोकेको ट्रक वीरगन्जबाट गण्डकी प्रदेशको कास्कीतर्फ गइरहेको छ भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मंगलबार राति ट्रक नियन्त्रणमा लिएको थियो ।

राति साढे १० बजे ट्रक रोकेर चेकजाँच गर्दा नमस्ते ट्रासपोर्टबाट पठाइएको ट्रकमा विल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

ट्रकमा ६१ लाख ४६ हजार १२ रुपैयाँ बराबरको खुद्रा, लत्ता कपडा तथा औषधिजन्य सामाग्रीहरू फेला परेको उहाँले बताउनुभयो । बरामद गरिएको सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply