वीरगन्ज,नेपाली कांग्रेस निकट पत्रकारको संगठन प्रेस यूनियन पर्साको अध्यक्षमा विजय चौहान (महतो) निर्वाचित हुनुभएको छ ।यूनियनको सोमबार सम्पन्न १० औं जिल्ला अधिवेशनको बन्दसत्रमा भएको निर्वाचनमा चौहान विजयी हुनुभएको हो । महतोसहित क्रान्ति साह, अलि असगर देवान र लालकिशोर सिंह चारजना अध्यक्षका आकांक्षी थिए ।साहलाई खुलातर्फको उपाध्यक्ष र अली असगर देवानलाई समावेशी उपाध्यक्ष निर्विरोध चयन गरेपछि चौहान र सिंहबीच सहमति जुट्न नसक्दा निर्वाचनमा जानु परेको थियो । ४९ जना कूल सदस्य सङ्ख्या रहेको यूनियनको निर्वाचनमा ४५ जना सदस्यले मतदान गरेका थिए । त्यसमध्ये २३ मत चौहानको पक्षमा परेको थियो भने १८ मत सिंहको पक्षमा परेको थियो ।चौहान ५ मतले विजयी भएको प्रमुख निर्वाचन अधिकृत रामाशिष यादवले जानकारी दिनुभयो । यूनियनको सचिवमा इरफान अलि, कोषाध्यक्षमा कपिलदेव यादव, सहसचिवमा आरजु देवकोटा पनि निर्विरोध चयन भएका छन् । यसअघि अधिवेशनको खुलासत्रको उद्धाटन नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गर्नुभएको थियो ।उद्धाटन सत्रमा बोल्दै मन्त्री रिजालले देशमा भएको भ्रष्टाचार विरुद्ध सञ्चारकर्मीहरुको कलम अझ धेरै चल्नुपर्ने बताउनुभयो । उहाँले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरुलाई कारबाही गर्नुपर्ने जनदबाव बढेको र सञ्चार क्षेत्रले पनि त्यसलाई निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले शरणार्थी प्रकरणको भ्रष्टाचार एमालेको पालादेखि शुरु भएको समेत बताउनुभयो ।



















