मनोज शाह
जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माणमा ढिलासुस्ति भएको छ ।भवन निर्माणको ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर बजारमा रहेको विद्यालयको भवन निर्माणमा ढिलासुस्ति भएको हो ।
निर्माण कम्पनीले जग हाल्न खाल्टो खनेर त्यसै छाडेकाले विद्यालयको पठन पाठन प्रभावित बनेको अभिभावकहरुले गुनासो गरेका छन ।
भवन निर्माण ठेक्का लिएको एनके कन्ट्रक्सन प्रालि वीरगञ्जले अर्को कम्पनीलाई निर्माणको जिम्मा दिएकोले निर्माण कार्य अवरुद्ध बनेको विद्यालयका प्रधानाध्यापक राजु सिंहले बताउनुभयो ।जीतपुरसिमरा नगरमा सबैभन्दा पुरानो विद्यालयको रूपमा रहेको सो विद्यालयमा भवन अभावले पठनपाठनमा समस्या हुदैआएको छ । जीतपुरसिमरा उपमहानगरपालिकको १ करोड २० लाखको सहयोगमा २ तले आठ कोठाको भवन निर्माणको लागि चालु आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसंग १ महिनाअघि संझौता भएको थियो ।जीतपुरसिमरा वडा नम्बर ७ का सुनिल गुप्ताले सर्त अनुसार तोकिएको समयभित्रै भवन निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुचारु गर्न ठेकेदार कम्पनीलाई आफूले निर्देशन दिएको बताउनुभयो ।