नरेश गुप्ता

बरियारपुर,बाराको आदर्श कोतवालमा एक ९ बर्षिया बालिकालाई जबरजस्ति करणी गरि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ स्थित कुखुरा फार्म संचालन गरेर बस्दै आएका सोही पालिकाका वर्ष २० का संतोष साह कानु, उनका बुबा बिन्देशवर साह कानु र आमा शान्ति देबीलाई पक्राउ गरेर प्रहरीले आइतवार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ७ कोतवाली निवासी मोतिलाल साह कानुकी ९ वर्षिय छोरी रुपमाला कुमारी साहलाई संन्तोषले बलात्कार गरि हत्या गरेको खुलेको थियो । गत पुष २५ गते दिउसो जमुनी खोला नजिक बाख्रा चराउन गएको बेला रुपमाला बेपत्ता भएकी थिइन । आफन्त र स्थानीयले ४ दिनपछि उनको शव जमुनी नदी किनारामा फेला पारेका थिए ।
अनुसन्धानको क्रममा पक्राउ परेका सन्तोषले बलात्कारपछि बालिकाको हत्या गरेको स्वीकारेको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो । बाख्रा चराउने पानी पिउन भनेर कुखुरा फर्मतर्फ गएकी बालिका फर्केर आएकी थिइनन । सोही क्रममा संतोषले एक्लै रहेकी बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
घटनास्थलमा प्रहरी प्रवक्ता थापा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको अनुसन्धान अधिकृतको टोलीले अवलोकन गर्दा बालिकाको घाँटीमा थिचेर टाउकोमा प्रहार गरि हत्या गरिएको पाइएको थियो । अभियुक्तहरुको खोजी गर्ने क्रममा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र महतोको कमान्डमा मगाइएको तालिम प्राप्त कुकुरको सहयोगले अभियुक्तलाई पक्राउ गरिएको हो । अभियुक्त बिन्देशवर साह कानु र श्रीमती शान्तिदेबीले अपराध पुष्टि हुने दसीहरु लोप गर्ने प्रयास गरेकोले उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको तीनै जनामाथि कर्तव्य ज्यान सम्बन्धि मुद्दामा बारा जिल्ला अदालतबाट स्वीकृत लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।


















