निजगढ,बाराको निजगढमा बृहत् निजगढ खानेपानी आयोजना सञ्चालन गर्न अर्थ मन्त्रालयले ३० करोड बजेट सुनिश्चित गरेको छ । निजगढ नगरपालिकाका १३ मध्ये ९ वटा वडाहरूमा खानेपानी आयोजना संचालन गर्न मन्त्रालयले सो बजेट सुनिश्चित गरेको हो ।
सङ्घीय खानेपानी मन्त्रालयबाट बहुवर्षीय ठेक्काअन्तर्गत स्रोत सहमतिका लागि माग गरिएअनुसार अर्थ मन्त्रालयले ३० करोड बजेट सुनिश्चित गरेको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले जानकारी दिनुभयो । मन्त्रालयबाट बजेट सुनिश्चित भएपछि चालु आर्थिक वर्षबाट नै आयोजनाको काम पनि अघि बढ्ने निश्चित भएको उहाँले बताउनुभयो ।
विगत ३ वर्षदेखि चर्चामा रहेको यो आयोजनामा यसअघि अर्थ मन्त्रालयबाट बजेट सनिश्चितता नहुँदा काम शुरु हुनसकेको थिएन ।उपभोक्ता संस्थाको तर्फबाट मन्त्रालयमा गरिएको पटकपटकको प्रयास, सांसद मैनाली र निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीको पहलमा बृहत् खानेपानी आयोजनाका लागि मन्त्रालयले बजेट सुनिश्चित गरेको निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइरालाले बताउनुभयो ।
आयोजना अन्तर्गत पहिलो चरणमा ४ लाख ५० हजार लिटर क्षमताको २ वटा ओभर हेड ट्याङ्गी, ३ वटा डिप बोरिङ्ग, पाइपलाईन विस्तार र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिने अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।
योजना सम्पन्न भएपछि निजगढका ४ हजारभन्दा बढी घरधुरी परिवारले थप सहजताका साथ स्वच्छ खानेपानी उपभोग गर्न पाउने छन् ।


















