वीरगञ्ज,
सर्लाहीमा ‘बच्चा चोर’को अफवाह नरोकिँदा प्रहरी हैरान भएका छन् । गाउँघर तथा बजार क्षेत्रमा यसअघिदेखि नै मागेर खाँदै हिँड्ने मानिसलाई समेत अहिले हल्लाकै भरमा ‘बच्चा चोर’को आरोप लगाई कुटपिट गरेर प्रहरीलाई बुझाउने क्रम बढ्दो छ । बुधबार राति मात्रै लालबन्दी नगरपालिका—९, बस्तीपुर क्षेत्रबाट स्थानीयले ‘बच्चा चोर’ भन्दै एक पुरुषलाई प्रहरीको जिम्मा लगाएका थिए तर सोधखोज गर्दा ती व्यक्ति ‘बच्चा चोर’ नभई एक/डेढ महिनादेखि लालबन्दी बजार क्षेत्रमा मागेर खाँदै हिँड्ने बेवारिसे मानिस भएको खुलेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
जिल्लाको लालबन्दी, हरिवन, मलङ्गवाल गायतको स्थानबाट स्थानीयले यसरी ‘बच्चा चोर’ भन्दै बुझाइएका व्यक्ति मागेर खाँदै हिँड्ने र मानसिक सन्तुलन ठीक नभएको पाइएको बताइएको छ । प्रहरीले हल्लाको पछाडि लागेर त्यस्ता सडक मानवलाई दुर्व्यवहार तथा कुटपिट नगर्न आग्रह गरेको छ ।
सर्लाही प्रहरीका प्रहरी नायब उपरीक्षक विजय यादवले ‘बच्चा चोर’ भन्दै स्थानीयले विभिन्न स्थानबाट बुझाएका व्यक्तिमध्ये कसैको पनि शङ्कास्पद गतिविधि नदेखिएको बताउनुभयो । यो अफवाहले प्रहरी आजित भएको प्रहरी नायब उपरीक्षक यादवले बताउनुभयो ।
सर्लाही प्रहरीले गाउँघरमा देखिएका नयाँ नौलो मानिसको गतिविधि शङ्कास्पद देखिए प्रहरीमा खबर गर्न अन्यथा मागी खाँदै हिँड्नेलाई ‘बच्चा चोर’को आरोप लगाइ दुर्व्यवहार नगर्न आग्रह गरेको छ ।