बाराको सिम्रौनगढ नगरपालिकामा जनप्रतिनिधि र नागरिक समाजका अगुवासहितको बीचमा एकखालको सहमति भएको कुरा आएको छ । स्थानीय तहमा अहिले जनप्रतिनिधिहरु छन् अनि कर्मचारीहरु त यसै पनि हुने नै भए ।धेरै स्थानीय तहमा कर्मचारी,जनप्रतिनिधि अनि जनप्रतिनिधिबीचमै पनि विवाद भएको देखिन्छ । जसका कारण बाराका प्राय सबै स्थानीय तहमा केही न केही समस्या छ । सबैभन्दा बढी समस्या अनि उग्रता बाराको जीतपुरसिमरामा छ । त्यहाँ चैं राजनीतिले गर्नुसम्म गरेको छ । जनप्रतिनिधिबीचको विवादमा कर्मचारी परेपछि विवाद झनै बढेको छ ।

प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीचको गज्जबको विवाद जीतपुरसिमरा उपमहानगरपालिकामा देखिएको छ । सो पालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत दुबैको रबैया उस्तै देखियो । प्रमुख प्रशासकीय अधिकृतलेजनप्रतिनिधिको राजिनामा मागेको अचम्मको दृश्य र जनप्रतिनिधिहरुले पनि कार्यकक्षमा घेरेर भन्नुसम्म भनेको कुरा सामाजिक संजालमा नै देखिन्छ ।

मुलतः मेयर र जनप्रतिनिधिबीचको लडाईमा हाकिम परेका कारण पनि यो समस्या भएको हो । यो घटनालाई एमाले र माओवादीको लडाइँको रुपमा पनि कतिपयले हेरेका छन् । खासमा जनताका प्रतिनिधिहरु स्थायी सरकार होइन,जनताको काम गर्नका लागि निश्चित समयको लागि निर्वाचित भएका हुन् ।उनीहरुले पाँच वर्षका लागि जे गर्न सक्छन् त्यो गर्ने हो,विवाद गर्ने,झगडा गर्ने अनि आफ्नो स्वार्थ पूरा गर्ने अभियानमा लाग्ने होइन । अनि कर्मचारीले पनि आफ्नो हैसियत बिर्सेर जनप्रतिनिधिको राजिनामा माग्ने कार्य शोभनीय हुदैन ।

जनप्रतिनिधिहरुले कुनै पनि काम गराउन विभिन्न खालको दवाव सृजना गर्नसक्छन र कर्मचारीले नियमसंगत भएमा मात्र गर्ने हो अन्यथा नगर्ने नै हो । तर कर्मचारीले जनप्रतिनिधिको राजिनामा नै माग्नु भनेको हास्यास्पद र अन्यन्त गैह्जिम्मेवारीपन हो भन्नुपर्छ तर जीतपुरसिमरामा भने यस्तै देखिएको छ ।राजनीतिक विवादले सृजना गरेकोकुनै पनि समस्या सहमतिको आधारमा अन्त्य गर्न आवश्यक छ । यसो भएको खण्डमा मात्रै हरेक स्थानीय तहको विकास हुनेछ र स्थानीय तह पनि समृद्ध हुनेछ नत्र आपसी लडाइँका कारण स्थानीय तहको अवस्था जहाँको त्यही नै रहनेछ ।

 

Leave a Reply