रौतहट,जङ्गली हात्तीबाट हुने क्षतिबाट स्थानीयलार्य जोगाउन डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका कार्यालयसँग सहयोग माग गरेको छ ।जङ्गली हात्तीले चन्द्रपुर नगरपालिकाको उत्तरी भेगका बस्ती र किसानको बालीमा लामो समयदेखि क्षति पु¥याउँदै आएपछि कार्यालयले पालिकालाई १० थान ‘इनरलाईजर’ (वन्यजन्तु लाई हल्का विद्युतीय झट्का दिने उपकरण) खरिद गरी हात्ती प्रभावित क्षेत्रका किसानलाई उपलब्ध गराउन अनुरोधकासाथ पत्र पठाएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका जङ्गली हात्तीले वर्षेनी रौतहटको उत्तरी क्षेत्र चन्द्रपुर नपाको २ र ३ नम्बर वडा गुजरा र फतुवाविजयपुर नगरपालिकाको वनक्षेत्रका बस्ती र बालीमा क्षति पु¥याउँदै आएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई महिनाभन्दा बढी समयदेखि हात्तीले उपद्रो मच्चाउँदै आएको छ । बालीनाली र घरटहरा भत्काएको छ । हात्ती प्रभावित क्षेत्रका नागरिक त्रसित छन् ।
हात्तीका कारण जनधनको क्षति नहोस् भन्नका लागि चन्द्रपुर नगरपालिकासँग करिब २० लाख रुपियाँ पर्ने दश थान इनरलाईजर यन्त्रको सहयोग माग गरेका छौं ।’यता चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले डिभिजन वन कार्यालयले नै उक्त यन्त्रको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । ‘पालिकासँग उक्त शीर्षकमा खर्च गर्ने बजेट नभएका कारण नगरपालिका कार्यालय हाल उक्त यन्त्र खरिद गर्न असमर्थ छ । सम्बन्धित विभाग वा मन्त्रालयबाट बजेट माग गरी वन्यजन्तुबाट हुने धनजनको सुरक्षा गर्नु वन कार्यालयको दायित्व पनि हो ।’
हात्तीले अहिलेसम्म चन्द्रपुर नगरपालिका– ३ गैँडाटारमा सात वटा र वडा नम्बर २ जुडिबेलामा एउटा गरी आठ वटा घर भत्काएको छ । यसैगरी, उक्त क्षेत्रमा ठुलो क्षेत्रफलमा स्थानीय किसानहरुले लगाएको केराखेती पनि नष्ट गरेको छ । वडा अध्यक्ष बोधनाथ देवकोटाकाअनुसार कालापानी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा निर्माण भएको उद्यान र पानीघट्टमा समेत क्षति पु¥याएको छ । यता फतुवा विजयपुर नगरपालिका– ११ भैसही र बटवा बस्तीमा उदय चौधरी, मिलन मगर, हरिशरण मैनालीलगायत पाँच वटा स्थानीयको घरमा क्षति पु¥याएको बताइएको छ ।


















