निजगढ,राष्ट्रिय सहकारी बैङ्कका संचालक समितिका अध्यक्ष केबी उप्रेतीले स्थानीय तहको सबैभन्दा नजिकको र उपयोगी संस्था भनेको सहकारी संस्था नै भएको बताउनुभएको छ ।बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको शुक्रवार निजगढमा भएको १४औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष उप्रेतीले सो कुरा बताउनुभएको हो । उहाँले स्थानीय तहको सरकारहरुले सहकारी संस्थामार्फत पालिकाको विकास निर्माण र जनचेतना अभिवृद्धिका सम्बन्धि कार्यक्रम संचालन गर्नसक्ने पनि बताउनुभयो । ‘स्थानीय तहमा सडक लगायत अन्य पूर्वाधार निर्माणका काममा पनि सहकारी संस्थाहरुले काम गर्नसक्छन, अध्यक्ष उप्रेतीले भन्नुभयो, तर सहकारी संस्थाहरुलाई साथमा लिएर काम गर्ने संस्कृतिको भने विकास हुन सकेको छैन ।’ उहाँले नेपालको वर्तमान संविधानले नै ३ खण्डे अर्थनीति अबलम्बन गरेको हुँदा देशको आर्थिक विकासमा सहकारीको भूमिका अपरिहार्य भएको पनि बताउनुभएको छ ।संघका जिल्ला अध्यक्ष सतेन्द्रप्रसाद ठाकुरको अध्यक्षतामा भएको सो साधारण सभामा निजगढ नगरपालिकाकी उपप्रमुख सोममायाँ थिङ्ग, राष्ट्रिय सहकारी महासंघका सदस्य टेकप्रसाद चौलागाई, राष्ट्रिय सहकारी बैङ्कका संचालक समिति सदस्य विश्वनाथ मण्डल, मुकुन्दबहादुर क्षेत्री लगायतले साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।साधारण सभाले संघको जिल्ला कोषाध्यक्ष एंवंम निजगढ महिला सहकारीकी अध्यक्ष शोभा राउतले प्रस्तुत गरेको संघको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । कार्यक्रममा संघको पहिलो साधारण सभा गराउने ओम बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट संचालक मध्येबाट लोकप्रिय बचत तथा ऋण सहकारी निजगढका अध्यक्ष अम्बिका चौलागाई र उत्कृष्ट व्यवस्थापकमा उद्यमशील बचत तथा ऋण सहकारी संस्था जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ सुन्दर बस्तिका कृष्ण नेपाललाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो ।कार्यक्रमको संचालन संघका जिल्ला उपाध्यक्ष राजुराज अधिकारीले गर्नुभएको थियो । १३ लाख शेयर पूजी रहेको संघले हाल करिव १ करोड बराबरको कारोबार गर्दैआएको छ । संघमा जिल्लाका विभिन्न पालिकाका १ सय ५० सदस्य सहकारी संस्थाहरु आवद्ध छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here