कलैया,बाराको महागढीमाई नगरपालिकामा सरकारले तोकेको मापदण्ड विपरीत इन्धन खर्च देखाएर लाखौँ रुपैयाँ हिनामिना गरेको पाइएको छ ।नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले कर्मचारीहरूको मिलेमतोमा ६५ लाख रुपैयाँभन्दा बढी रकम इन्धन शीर्षकमा खर्च गरेको विवरण प्रस्तुत गरेपछि सो कुराको खुलासा भएको हो ।

प्रदेश खर्च मापदण्ड निर्देशिका २०७७ र मधेस प्रदेशको स्थानीय तहका पदाधिकारी सुविधा सम्बन्धी ऐन, २०७७ अनुसार नगर प्रमुख, उपप्रमुख र कार्यालय प्रयोजनका लागि इन्धन खर्चको वार्षिक सीमा १८ लाख ८० हजार रुपैयाँ तोकिएको छ तर, आर्थिक वर्ष २०७८÷७९ मा महागढीमाई नगरपालिकाले इन्धन शीर्षकमा ६४ लाख ८० हजार रुपैयाँ खर्च देखाइएको छ ।
महालेखा परीक्षकको कार्यालय (मलेप) प्रतिवेदनले जेसीबी, ट्याक्टर र टिपरजस्ता उपकरणहरूको इन्धन खर्च तथा ती उपकरणको लगबुक र आम्दानीको विवरण उपलब्ध नभएको जनाएको छ ।स्थानीयवासी सुनिल कुशवाहाका अनुसार, उपकरणहरूमा देखाइएको झन्डै ४६ लाख रुपैयाँ इन्धन खर्चको कुनै आधार प्रमाण छैन । अर्का स्थानीय श्यामकिशोर यादवले मेयर यादवले कर्मचारीसंगको मिलेमतोमा इन्धन शीर्षकमा कमिसनका लागि रकम दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । नगरपालिकाका पदाधिकारी र कर्मचारीहरूले चढ्ने सवारी साधनको सङ्ख्या ३५ रहेको र ऐनअनुसार प्रत्येक सवारी साधनलाई मासिक १० लिटर इन्धन दिने व्यवस्था छ ।
यसअनुसार वार्षिक ६ लाख ३० हजार रुपैयाँ मात्र इन्धन खर्च हुने देखिन्छ । यस्तै, कार्यालयका अन्य उपकरणहरूको इन्धन खर्चसमेत समेट्दा कुल वार्षिक खर्च मापदण्डभन्दा धेरै तल हुनुपर्नेमा खर्च अत्यधिक देखाइएको छ ।

Leave a Reply