कलैया,जिल्ला विपद् व्यवस्थापन समिति बाराले पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा ज्यान गुमाएका बाराको जीतपुरसिमरा उपमहानगरपालिका १२ फत्तेपुरका तीन जनाको परिवारलाई क्षतिपूर्तिको लागि प्रक्रिया अघि बढाउने भएको छ ।जिल्ला प्रशासन कार्यालय बारा कलैयामा सोमवार सम्पन्न समितिको बैठकले मृतकको परिवारमा नियमअनुसार क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।
मेची राजमार्गको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा जीतपुरसिमरा उपमहानगरपालिकाका फत्तेपरका तीन जनाको मृत्यु भएको थियो ।गत शनीवार बिहान भएको घटनामा जीतपुरसिमरा १२ का २२ वर्षीय रुपलाल चौधरी, २२ वर्षीय राकेश चौधरी, २७ वर्षीय राजन चौधरीको मृत्यु भएको हो । उनीहरुले उपचारका क्रममा ज्यान गुमाएका थिए । यसैगरी घटनामा फत्तेपुरकै २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते भएका छन् । मृतक र घाइते सबै निर्माणाधीन बेलिब्रिजमा मजदुरको रुपमा कार्यरत थिए ।बैठकमा वर्षातका कारण उत्पन्न हुने बाढी पहिरोको प्रकोप र त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर जिल्लास्थित सुरक्षाकर्मी, सम्बन्धित क्षेत्रमा काम गर्ने विभिन्न सरकारी र गैरसरकारी कार्यालय तथा जिल्लाका स्थानीय तहहरुलाई विपद् व्यवस्थापनको लागि तयारी रहन आग्रह गर्ने पनि निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष बसन्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुर्नस्थापनालगायतको कार्यहरु प्रभावकारी रुपमा संचालन गर्ने निर्णय पनि गरेको प्रजिअ अधिकारीले बताउनुभयो ।
विपद पीडितहरुको लागि प्रमुख जिल्ला अधिकारीले राहत स्वरुप यसअघि दिदैआएको १० देखि २० हजार रुपैयाँसम्मको सहयोग हाल सोसम्बन्धि कार्य विधि परिवर्तन भएकाले अब स्थानीय तह स्तरमा गठन भएको विपद् व्यवस्थापन समितिले नै राहत उपलब्ध गराउनुपर्ने पनि प्रजिअ अधिकारीले जनाउनुभयो ।बारा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहको प्रमुख अतिथित्वमा भएको सो बैठकमा जिल्लाका १६ वटै स्थानीय तहका प्रमुख,सरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीहरुको उपस्थिति सहभागिता रहेको थियो ।
















