कलैया,बारा जिल्लाको कलैया उपमहानगरपालिका– २६ मा रहेको सार्वजनिक पोखरीको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको खुलासा भएको छ । सो वडाका वडाध्यक्ष धर्मेन्द्र यादवले पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिनुभएको हो ।

वडा अध्यक्ष यादवका अनुसार, साबिक महेशपुर गाविस वडा नम्बर १ मा पर्ने कित्ता नम्बर ७ को १४ कठा १० धुर क्षेत्रफलको सार्वजनिक ऐलानी जग्गामा भएको पोखरी दुलरिया अहिरिन नाम गरेका व्यक्तिको नाममा दर्ता देखिएको छ । अध्यक्ष यादवका अनुसार, यस विषयमा मालपोत कार्यालय बारामा उक्त जग्गासम्बन्धी कुनै आधिकारिक फाइल समेत फेला परेको छैन । वडा अध्यक्ष यादवले मालपोत कार्यालयका केही कर्मचारीको मिलेमतोमा नक्कली कागजात बनाएर सार्वजनिक पोखरीको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको हो ।

सार्वजनिक सम्पत्तिलाई व्यक्तिको नाममा दर्ता गराउने यस प्रकरणले भू–माफियाको सक्रियता देखाएको उहाँले आरोप लगाउनुभयो । उहाँले घटनाका दोषीमाथि कडा कारबाही गर्न र सार्वजनिक सम्पत्तिको रक्षा गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ । मालपोत कार्यालय कलैयाले पनि जग्गाको विषयमा छानबिन सुरु गरेको बताएको छ । पोखरी दर्ता गर्ने दुलरिया अहिरिनलाई सात दिनभित्र प्रमाणसहित उपस्थित हुन कार्यालयले पत्राचार गरेको छ । साथै, मालपोतले उक्त जग्गामा कुनै पनि प्रकारको हक हस्तान्तरण पनि रोक्का राखेको छ ।

Leave a Reply