मानिस र जंगली जनवारबीचमा परापूर्वकालदेखि नै चल्दैआएको तनावपूर्ण सम्बन्ध अहिले पनि जारी नै छ । विशेषगरी जंगल नजिक घर भएकाहरु जंगली जनावरबाट मानिसहरु आजित हुने गरेका छन । जनावरले मानवीय क्षति पनि गरेका छन् । बारा, पर्सा, रौतहट तथा मकवानपुर क्षेत्रमा हालसालै मात्र पनि जंगली जनावरले मानवीय क्षति गरेको छ । भौतिक क्षति त हप्तापिच्छे नै हुने गरेको छ भन्दा पनि फरक पर्दैन ।
जंगली जनारबाट प्रभावित जिल्लाहरु मध्ये बारा पनि एउटा हो । बाराको जंगल क्षेत्रसंग जोडिएको कोल्हबी, निजगढ र जीतपुरसिमराका नागरिकहरुले सधै वन्यजन्तको आतङ्क बेहोर्दै आउनुपरेको छ । बाराको कोल्हबीलगायतका क्षेत्रमा वन्यजन्तको आतङ्क बढ्दै गएपछि सांसद अच्युत मैनालीले समेत यो विषयमा चासो दिनुभएको छ । सांसद मैनालीले वन तथा वातावरण मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई भेटेर बाराको कोल्हबी क्षेत्रमा वन्यजन्तुले गर्दैआएको धनजनको क्षति रोक्न माग गर्नुभएको हो । जनताको जिउधनको सुरक्षामा चासो देखाउनु सहनीय कुरा हो तर यो विषयमा सांसदले चासो मात्र देखाएर पुग्दैन । समस्याको दीर्घकालिन निकारकरणको लागि ठोस र सार्थक पहल गर्न आवश्यक छ । आफ्ना नागरिकहरुलाई कसरी जंगली जनावरबाट जोगाउन सकिन्छ भनेर संसदमा कुरा उठाउने र सोही अनुसारको कानुन र नीति निर्माण गर्ने हो भने सर्वसाधारणले अवश्य नै केही न केही राहत पाउने थिए होलान ।
जंगली जनावरबाट नागरिकहरुलाई जोगाउन र क्षतिपूतिको व्यवस्था गर्न नेपालमा कानुनको पनि अभाव देखिएको छ । हाम्रो देशको कानुनमा वन्यजन्तुको आक्रमणबाट मान्छे म¥यो भने राहत र क्षतिपूर्ति छैन तर प्रतिकारमा वन्यजन्तु मर्दा भने मानिसले जेलमा बस्नुपर्छ । त्यसैगरी वन्यजन्तुको उपद्रोहबाट घरबार बिहीन बनेका पीडितहरुले पनि कानुन अभावमा उचित क्षतिपूर्ति प्राप्त गर्न सकेका छैनन । यस्तो अवस्थामा एउटा सांसदले चासोमात्रै देखाउनेभन्दा पनि नागरिकको जिऊ अनि धन जोगाउन आवश्यक कानुन निर्माणमा लाग्न जरुरी छ ।
हुन त वन्यजन्तु कि मानिसको ज्यान ठूलोभन्ने वहश पनि छ । वन्यजन्तु विद्वहरुले मानिसभन्दा पनि वन्यजन्तुको संरक्षणलाई प्राथमिकता राख्ने गरेका छन । मानिसकै लागि वन्यजन्तुको संरक्षण गरिनुपर्ने उनीहरुको तर्क हुन्छ । यही तर्कलाई मान्ने हो भने पनि फेरि मानिसले नै दुःख बेहोरेर वन्यजन्तु संरक्षण गर्नुको औचित्यलाई कसरी पुष्टि गर्न सकिएला ।
त्यसैले तर्क जेजे भएपनि सबैको पहिलो प्राथकिता भनेको मानिसको ज्यान जोगाउनुमा नै हुनुपर्छ । मानिसबाट गल्ती भएको भए पनि त्यसलाई सच्चाउने कानुन आवश्यक छ र भएको कानुनका विषयमा पनि नागरिकहरुलाई बुझाउन जरुरी छ । जनावरलाई कानुनको अर्थ हुने कुरै भएन बरु उनीहरुलाई कसरी नियन्त्रणमा ल्याउन सकिन्छ भन्नेतर्फ पनि भने कानुन तर्जुमा गर्नुपर्ने देखिन्छ ।
















