पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका १७ को जैतापुर र कलैया उपमहानगरपालिका वडा नम्बर २१ र २२ भोडहा मटेरियामा शुरु भएको सन्तममाईको मेलामा मेलाकोभन्दा आयोजक समितिका अध्यक्षको प्रचार गरिएको पाइएको छ ।
स्थानीयवासिन्दा र स्थानीय सरकारलगायत विभिन्न निकाय र संघसंस्थाबाट चन्दा रकम संकलन गरेर लगाइएको मेलामा आयोजक समितिका अध्यक्ष विनोदप्रसाद साह (मटेरिया) को फोटो राखेर प्रचार गरिएको हो ।मेला क्षेत्रमा प्रवेश गर्न बनाइएका ३ वटा गेटमा रंगिन फ्लेक्स प्रिन्टमा साहले हात जोडेर नमस्कार गरेको ठूला ठूला फोटो दुबैतिर सजाएर राखिएको छ ।

अध्यक्ष साहकै प्रचारका लागि मेलाको आयोजना गरिएको जस्तो देखिएको र गेटैपिच्छे बढेमान फोटो देखेपछि मेला भर्न आएका स्थानीय असन्तुष्ट बनेका छन । ‘मन्दिरको फोटो राख्नुपर्ने स्थानमा आफ्नो फोटो राखेर साहले गल्ती गरेका छन ।’ स्थानीय रामचन्द्र यादवले बताउनुभयो । अर्का स्थानीय सकल ठाकुर पनि अध्यक्ष साहले आफ्नो व्यक्तिगत प्रचार गरेर पदको दुरुपयोग गरेको बताउनुभयो । ‘अध्यक्ष साहले राजनीति गर्न खोज्नुभयो, जनताको चन्दाबाट आफ्नो फोटो राख्नु हुँदैन थियो । माताको फोटो राख्नुपथ्र्याे । यो गलत भयो । यसले विवाद उत्पन्न हुन्छ ।’ ठाकुरले भन्नुभयो ।
यस्तै अर्का स्थानीय रामानन्द साहले विनोद भन्नुभयो– ‘आफ्नै खर्चमा मेला लगाए जसरी आफ्नो विज्ञापन गर्नु गलत भयो । चन्दा रकमको दुरुपयोग भयो । हामी हटाउन लगाउँछौं ।’ उहाँले भन्नुभयो ।

मेला लगाउन भनेर समितिका अध्यक्ष साहले वडा कार्यालय र सर्वसधारणसंग एक हप्ताअघिदेखि चन्दा रकम संकलन गर्दैआएका थिए ।मेला आइतवार र सोमवार गरी दुई दिनसम्म चल्नेछ । मेला क्षेत्रमा नाच, तमासाको प्रबन्ध गरिएको छ । मेलामा टिकटकर राजकुमार साहको टिमले मनोरञ्जन दिने पनि बताइएको छ । यस्तै पर्सा जिल्लाको सतवरिया पोखरियाको नाचलगायत खेल र तमासासमेत हुने जनाइएको छ ।मेला समितिका अध्यक्ष साह नेपाल सरकारका नायब सुब्बा तहका कर्मचारी हुन् । कोल्हबी नगरपालिका वडा नम्बर ११ रामपुर्वामा कार्यरत रहँदा जग्गा नामसारीको लागि सिफारिस दिने क्रममा सेवाग्राहीसँग घुस लिदैगरेको अवस्थामा ०७८ सालमा रंगेहात पक्राउ परेका उनी हाल निलम्बनमा छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले दायर गरेको पहिलो चरणको रिटमा साह पराजित भएका छन । त्यसपछि सर्वोच्च अदालत पुगेका उनको मुद्दा हाल विचाराधिन रहेको बताइएको छ ।

Leave a Reply