नरेश गुप्ता
बरियारपुर,महागढीमाई नगरपालिकामा कांग्रेस पार्टीले एक्लै चुनाव लड्ने नगर प्रमुख उपेन्द्रप्रसाद यादवले बताउनुभएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धन गरेर जाने तर पालिकामा गत स्थानीय तहको निर्वाचनमा विजयी उम्मेदवारलाई नै टिकट दिने भनेर पार्टीले निर्देशन दिएको अवस्थामा आप्mनो पार्टीले एक्लै चुनाव लडने गरी जिल्ला सभापती राजेश राय यादवले टिकट वितरण गर्ने उहाँको भनाइ थियो ।
शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकासमा महागढीमाई नगरपालिका अगाडि बढेको र सोही अनुसार आफूले जिम्मेवारी निभाएको उहाँले बताउनुभयो । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट नगर प्रमुख बनेका यादवले पाँच वर्षमा नगरपालिका भवन निर्माण, सुर्य मन्दिर, सुपर मार्केट लगायतको विकास निर्माणकार्य सुरु गरिसकेको उहाँले बताउनुभयो ।
महागढीमाईमा लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष रामचन्द्र साह नेपाली कांग्रेस तथा जसपा नेपालबाट प्रदेश सभासद निर्वाचित शारदाशंकर साहका छोरा राजाबाबु साह नेकपा एमालेमा प्रवेश गरेसंगै महागढीमाईमा आगामी स्थानीय तहको चुनावी महौल रोचक बन्न पुगेको नगरपालिका वडा नम्बर १ निवासी जितेन्द्र गुप्ताले बताउनुभयो । मेयर पदका आकांक्षी नै अन्य पार्टीमा प्रवेश गरेपछि जसपा नेपाल र लोसपा नेपालको तर्फको उम्मेदवारहरु घटेको उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचन बैशाख ११ र १२ गते मनोनयन दर्ता हुने भएपछि बारामा पार्टी प्रवेशको लहर तीव्र बनेको छ । महागढीमाई नगर प्रमुखमा नेपाली कांग्रेसबाट नगर प्रमुख उपेन्द्र यादव, एमालेबाट राजाबाबु साह, नेकपा माओवादी केन्द्रबाट रामबाबु यादव र सचिन कुशवाहाको नाम चर्चामा छ । मेयर पदका आकांक्षीहरुको पार्टी फेरबदलले नगरभित्रको चुनावी माहोल नयाँ चरणमा प्रवेश गरेको भएपनि जनताले विकासप्रेमी उम्मेदवारलाई मतदान गर्ने नगर प्रमुख यादवले बताउनुभयो ।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको र हरेक वडामा पार्टीको युवा, महिला, किसानको जनवर्गीय संगठन रहेकोले सबैको सहयोग आफूले पाएको पनि उहाँले बताउनुभयो । उहाँले चुनावमा आफ्नो पार्टीको प्रतिस्पर्धामा अर्को कुनै दल नभएको पनि बताउनुभयो । पार्टीको हितमा काम नगर्ने र पार्टी परिवर्तन गर्नेमाथि जनताको विश्वास घटेको उहाँको तर्क थियो ।
महागढीमाई नगरपालिकाको मयेर पदमा विजयी बनेपछि नगरको विकास र समृद्धिको लागि आफूले जिम्मेवारीका साथ काम गर्दै आएकोले सोको मूल्यांकन गरेर पार्टीले आगामी निर्वाचनमा आफूलाई नै उम्मेदवार बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।