राजन कुमार बानिया
पोखरिया,नेकपा (एमाले) छिपहरमाई गाउँपालिका कमिटीले आयोजना गरेको गाउँपालिका स्तरीय सभामा प्रमुख अतिथि रहनु भएका नेकपा एमालेका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री राजकुमार गुप्ताले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको उच्च प्रशंसा गर्नुभएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले भन्नुभयो, “केपी ओली कुनै साधारण नाउँ होइन, उहाँ एक ब्रान्ड हो— विकास, राष्ट्रवाद र स्वाभिमानको प्रतीक ।” उहाँका अनुसार केपी ओलीकै नेतृत्वमा देशले स्थायित्व, भौतिक पूर्वाधार र राष्ट्रिय पहिचानमा नयाँ उचाइ हासिल गरेको छ ।
पूर्वमन्त्री गुप्ताले जनतालाई भ्रममा पार्ने, तोडफोड र आगजनीमा संलग्न समूहहरूबाट सतर्क रहन आग्रह गर्दै भन्नुभयो, “एमाले जनताको पार्टी हो, यसले जहिले पनि देश र जनताका हितमा काम गर्नेछ ।” उहाँले एमालेको मुख्य लक्ष्य सुशासन, रोजगारी सिर्जना, समृद्ध अर्थतन्त्र र सबल राष्ट्र निर्माण रहेको पनि बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “हामी सबै एमालेका कार्यकर्ताहरूले गाउँदेखि केन्द्रसम्म संगठनलाई सुदृढ बनाएर केपी ओलीको हात बलियो बनाउनुपछ । देशको विकासको सपना पूरा गर्न ओलीकै नेतृत्व अपरिहार्य छ ।
कार्यक्रममा केन्द्रिय सदस्य अरविन्द सिंह, पूर्वप्रदेश सांसद प्रह्लाद गिरी, गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्तालगायतले संवोधन गरेका थिए ।नेकपा (एमाले) छिपहरमाई गाउँपालिका कमिटीका उपाध्यक्ष किशोरी साह कानुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा, नेकपा एमाले मधेस प्रदेश सदस्य वीरेन्द्रप्रसाद यादव, सलाउदिन अहमद, राष्ट्रिय युवा संघ नेपाल पर्सा अध्यक्ष सुबास साह, जिल्ला कमिटी सदस्य कालु दादा, वडा अध्यक्ष मौजिलाल साह, महेन्द्र साह कलवार, पूर्ववडा अध्यक्ष राजबली यादव, बिनोद साहलगायत स्थानीय तहका जनप्रतिनिधि, बुद्धिजीवी, महिला तथा युवा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


















