पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वामा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव हुने भएको छ ।‘पर्यटन कृषि र प्राकृतिक सौन्दर्यको सहर, समृद्ध सांस्कृतिक जीतपुरसिमरा नगर’ भन्ने नाराका साथ पुष २५ गतेदेखि माघ ७ गतेसम्म महोत्सव हुन लागेको हो ।

श्रीमौवादेवी युवा क्लबको आयोजना तथा लालिगुँरास क्रेयचन मिडिया नेपालको व्यवस्थापनमा पहिलो पटक बडहर्वामा महोत्सव गर्न लागिएको हो । महोत्सवले बडहर्वालाई राष्ट्रिय स्तरमा चिनाउनुका साथै स्थानीय स्तरको कृषि, उद्यम, कला, संस्कृति, पर्यटन, खेलकुदको प्रवद्र्धन गर्न मद्दत पुग्ने अपेक्षा आफूहरुले राखेको मौवादेवी युवा क्लबका अध्यक्ष निर्मल यादवले जानकारी दिनुभयो ।

मौवादेवी क्लबको खेल मैदानमा आयोजना हुने महोत्सवमा स्थानीय स्तरका व्यापार, व्यवसाय, कृषि, उद्यमका साथै विभिन्न समुदायको खानाको परिकारलाई प्रवद्र्धन गर्न करिब एक सय वटा स्टल राखिने भएको छ ।
महोत्सवमा बालबालिकाका लागि बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति समेत रहने जनाइएको छ । १२ दिनसम्म आयोजना हुने महोत्सवमा स्थानीय कला र संस्कृतिलाई प्राथमिकताकासाथ प्रवद्र्धन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

त्यसैगरी महोत्सवमा प्रिति पासवान, राजा भोजपुरिया, अनु चौधरी, अन्जु कुश्मी, मिस्टर डी, एलिना चौहान, ज्योति मगर, दुर्गेश थापा, उर्गेन दोङ, बिशाल काल्ताङ, जीतु लोप्चनलगायतका कलाकारको प्रस्तुति रहने क्रेयचन मिडिया नेपालका अध्यक्ष बिन्दास इन्द्रले जानकारी दिनुभयो ।महोत्सवमा राखिने स्टलको भाडा र प्रवेश शुल्क भने निर्धारण हुन बाँकी छ । महोत्सव आयोजक र व्यवस्थापन पक्षले मूल्य निर्धारण गर्ने अध्यक्ष इन्द्रले बताउनुभएको छ ।गाउँमा पहिलो पटक महोत्सव आयोजना हुने भएपछि आफूहरु उत्साहित रहेको मौवादेवी युवा क्लबका पूर्वअध्यक्ष बसन्त खतिवडाले बताउनुभयो ।

Leave a Reply