पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिकाका दुई वटा विद्यालयहरु एकआपसमा गाँभिएका छन् । उपमहानगरपालिका वडा नं. १४ को जनचेतना आधारभूत विद्यालय मौलापुर र सोही वडाको जनता माध्यमिक विद्यालय रजघट्टामा समायोजन गरिएको हो ।बिहीवार जनता माध्यमिक विद्यालय रजघट्टा परिसरमा विद्यालय समायोजन समारोहको आयोजना गरिएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबाट दुई वटा विद्यालय बिहीवारबाट एउटै भएको घोषणा गरिएको हो ।विद्यार्थीको संख्या कम भएका विद्यालयहरुको स्तर घटुवा वा समायोजन गर्ने उपमहानगरपालिकाको नीति अनुसार दुई विद्यालयहरु एक आपसमा गाँभिएका हुन् । उपमहानगरपालिकाको नगर शिक्षा ऐन २०७५ मा कजोर विद्यालयलाई नजिकैको अर्को राम्रो विद्यालयसँग गाँभ्न सकिने कानुनी व्यवस्था मुताविक दुई वटा विद्यालयलाई एक बनाइएको नगरप्रमुख पौडेलले बताउनुभयो ।जनचेतना आधारभुत विद्यालयमा विद्यार्थीको संख्या न्युन भएको र स्थानीय अभिभावकहरु समेतको बेवास्था देखिएपछि नजिकैको विद्यालयमामा गाँभ्ने निर्णय गरिएको उपमहानगरपालिकाको शिक्षा समन्वय शाखाका प्रमुख शिवजी प्रसादले जानकारी दिनुभयो ।तीन दशकअघि २०४९ मा स्थापना भएको जनचेतना आधारभूत विद्यालयमा हाल ३० जना विद्यार्थी अध्यायनरत थिए । यस्तै ६ जना शिक्षक र कर्मचारी कार्यरत थिए । उनीहरुलाई जनता माध्यमिक विद्यालयमा समायोजन गरिएको शाखा प्रमुख प्रसादले जनाउनुभयो ।नगरपालिकाले २०८० जेष्ठ १० गते विद्यालय गाँभ्ने विषयमा विद्यालयमा पत्राचार गरेको थियो । सोही पत्रका आधारमा १३ गते बसेको अभिभावक भेलाले विद्यालय समायोजका लागि सहमति गर्ने निर्णय गरेपछि प्रकृयामा गएको जनचेतना आधारभूत विद्यालयकी प्रधानाध्यापक भवानी पाण्डेले बताउनुभयो । दलित र जनजाति बालबालिका मात्रै अध्ययन गर्ने विद्यालयमा उनीहरु नियमिन उपस्थिति थिएन । विद्यार्थीको संख्या न्यून हुँदै गएपछि संचालनमा समस्या हुँदै आएको थियो प्रअ पाण्डेले सुनाउनुभयो ।उपमहानगरभित्रका विभिन्न ९ वटा विद्यायलमा विद्यार्थीको संख्या न्यून रहेको पाइएपछि ती विद्यालयलाई नजिकैका अन्य विद्यालयमा गाँभिन परिपत्र भएको थियो । तीमध्ये पहिलो चरणमा जनचेतना आधारभूत विद्यालय मौलापुर हाम्रो विद्यालयसँग समायोजन भएको हो, जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।२०४२ सालमा स्थापित कृषि प्राविधिक शिक्षालय समेत संचालन हुदै आएको जनता माध्यमिक विद्यालयमा १ हजार १ सय ८२ छात्रछात्रा अध्यायनरत छन् । कृषिसँगै संगित कक्षा चलाउँदै आएको उक्त विद्यालय जीतपुरसिमरा उपमहानगरपालिकामा नमुना विद्यालय भएको उहाँको भनाइ छ ।समायोजन भएर गएको विद्यालयको भौतिक संरचनामा उपमहानगरको सहयोगमा नमुना मन्टेश्वरी शिक्षालय संचालन गर्ने योजना रहेको प्रअ अधिकारीले जानकारी दिनुभयो ।जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष समेत रहनुभएकी वडा नं. १४ की वडा अध्यक्ष चयन गुरुङ्गको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply