निजगढ, ३० साउन– निजगढ नगरपालिका वडा नम्बर– १३ भक्तलालमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान सुक्ले रुम्बाकाे कुटपिटबाट घाइते बनेकी ४० वर्षिय श्रीमती निर्मला गोलेको उपचारको लागि हेटौडा लैजाने क्रममा बिहिबार दिउसो बाटोमा नै मृत्यु भएको हो ।
छिमेकीहरुले दिएको जानकारीअनुसार दिउसो १२ बजे घर नजिकै गोठमा दुबैको झगडा भएको थियो । श्रीमानको कुटाइबाट गंभीर घाइते निर्मलाको उपचारको लागि टेम्पुमा राखेर हेटौडा लैजाने क्रममा चुरियामाई मन्दिर नजिक निर्मलाको मृत्यु भएको हो ।
श्रीमान सुक्ले आफैले टेम्पुमा राखेर उपचारको लागि हेटौडा लैजान लागेका थिए । निर्मलाको घाँटी र हातमा चोट लागेको स्थानीयले बताएका छन ।
घटनापछि शुक्रबार इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीले हत्या आरोपमा सुक्लेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले श्रीमती हत्या आरोपमा सुक्लेका भाइले किटानी जाहेरी दिएको र नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको बताउनुभयो ।
श्रीमान÷श्रीमती दुबैले मदिरा सेवन गर्ने र यसअघि पनि पटकपटक झगडा गर्ने गरेको स्थानीयले बताएका छन । निर्मलाको २ छोरी र एक छाेरा छन ।