कलैया,बालश्रम गराउन भारत पु¥याइएका रौतहटका ७ जना सहित ८ जना नेपाली बालाबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।एटविन युनिसेफको सहयोग तथा राष्ट्रिय बाल अधिकार परिषद, नेपाल प्रहरी र बाल हेल्पलाइन १०९८ बाराको सहकार्य ती बालकहरूलाई नेपाल फर्काएर बिहीवार जिल्ला प्रहरी कार्यालय बारामार्फत अभिभावकको जिम्मा लगाइएको हो ।

प्रहरी कार्यालय कलैयामा एक कार्यक्रमकाबीच प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने, संरक्षण नेपालका अध्यक्ष बबिता जयसवाल, बाल हेल्पलाइन १०९८ बाराका प्रतिनिधि लगायतका सरोकारवालाहरुको रोहवरमा बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाइएको संरक्षण नेपालका बृजमोहन कुशवाहाले जानकारी दिनुभयो ।रौतहटको दुर्गाभगवती गाउँपालिका १ जना, गढीमाई नगरपालिका १ जना, बृन्दावन नगरपालिकाका १ जना, परोहा नगरपालिकाका ३ जना र कपिलबस्तु जिल्लाका मायादेवी गाउँपालिका १ जना रहेका छन् । उद्धार गरिएका बालबालिकाहरु १३ देखि १७ वर्ष उमेर समूहका रहेको बताइएको छ ।

उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर ३ देखि ८ महिनाअघि आफन्त र चिनजानका मानिसले श्रम गराउन भारत पु¥याएका थिए । बालबालिकाहरुलाई भारतको मुम्बईस्थित नागपाडा क्षेत्रमा रहेको एउटा ब्याग बनाउने कारखानामा बालश्रम गरिरहेको अवस्थामा नेपाली र भारतीय प्रहरी टोलीले उद्धार गरेको थियो ।बालबालिकाको उद्धार गर्न संरक्षण नेपाल बाराका प्रतिनिधि पारसप्रसाद जयसवाल र बृजमोहन कुशवाहाले बाल कल्याण समिति मुम्बई र महिला तथा बालबालिका विभागसँगको समन्वयमा उद्धारपछि बालबालिकालाई नेपाल ल्याएका हुन ।उद्धार कार्यमा मिसन रेसक्यु अपरेशन इन्डिया, सामुदायिक विकास तथा सचेतना नेपाल, ग्रामीण विकास केन्द्रलगायत विभिन्न संस्थाहरुसंग पनि समन्वय गरिएको थियो ।

Leave a Reply