नेपालको सवालमा खेल क्षेत्र अझै व्यवसायिक हुन सकेकोछैन । खेलेर नै खेलाडीहरुले जीवन जिउन सक्ने अवस्था पनि बनेको छैन तर विगतको भन्दा अहिले चैं खेल क्षेत्रमा पनि केही सुधार भने देखिएको छ ।खेलाडीहरुलाई पनि अहिले नराम्रो चैं छैन । केही राष्ट्रिय स्तरका खेलहरु पनि आयोजना हुदैछन् । सरकारले आयोजना गर्नुपर्ने कतिपय खेलहरु निजी क्षेत्रबाट आयोजना गरिएको छ र त्यसले खेलाडी र खेलकुदको पनि विकासमा मद्दत गरेकै छ । यसैक्रममा हालै नेपालमा पहिलो पटक एनपिएल खेलको आयोजना गरियो ।
सो प्रतियोगितामा देशभरका क्रिकेटसंग सम्बन्धित आठ टीमको सहभागिता रहेको थियो । खेलमा स्वभाविक हो, हार अनि जीत हुन्छ । एक पटक जित्दैमा कोही मात्तिने र हार्दैमा आत्तिने पनि हुदैन । खेलको विकास र विस्तारका लागि यो प्रतियोगिता आयोजना हुनु आफैमा चुनौतिको कुरा पनि थियो । जे भएपनि खेल आयोजना गरियो र जनकपुर बोल्टस क्लबले ट्रफी पनि जितेको छ ।
तर, खेलका बेला र जनकपुरले जित्दै गर्दा केही गलत व्यक्तिहरुले समुदायलाई लक्षित गरेर गरेको टिप्पणी एकदमै आपत्तिजनक छ । खेलमा समुदाय जोडिने कुरै होइन । जनकपुरका केही खेलाडीलाई सुदुरका जनताले पनि मन पराउछन् अनि सुदुरका खेलाडीलाई मधेसका जनताले । अनि यसमा फलानो समुदाय भनेर किटान गरिनु अनि जथाभावी बोलिनु एकदमै नराम्रो कुरा हो । यस्तालाई हदैसम्मको कारबाही हुन जरुरी छ । यस्तो नश्लवादी सोच राख्नेहरु देशद्रोही नै हुन् ।

















