कलैया,स्थानीय निर्वाचन २०७९ को मौंन अवधि शुरु भएसँगै बारा जिल्ला लगायत देशैभर मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ ।
गृहमन्त्रालयको आदेश अनुसार जिल्ला प्रशासन कार्यालय, बाराले एक सूचना जारी गर्दै सदरमुकाम कलैया सहित बारा जिल्लाभर मदिराजन्य पदार्थ बेच्न रोक लगाएको हो । मदिराजन्य पदार्थको बिक्री वितरण नगर्न सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ अनुसार ‘मादक पदार्थ निषेध गर्ने’ व्यवस्था अनुसार स्थानीय प्रशासनलाई मदिरा बेच्न र खान निषेध गर्ने कानुनी व्यवस्थाको पालना गर्दै सूचना जारी गरिएको कटुवालले बताउनु भयो ।
उहाँका अनुसार बैशाख ३० मा निर्वाचन सम्पन्न नभएसम्म देशभर मदिरा बेच्न र सेवन गर्न पाइने छैन । मतदातालाई प्रभावित पार्नका लागि मदिराको प्रयोग बढ्ने अवस्थालाई मध्य नजर गर्दै मदिरा बेच्न र सेवन गर्न निषेध गरिएको कटुवालको भनाइ छ ।
सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइने र सूचनाको उलंघन गर्दै बेचेको पाइएको कानुनी कारबाही पनि गरिने उहाँले बताउनुभयो । उता होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेसका महासचिव मोहन शर्मा लामिछानेले पनि होटल व्यावसायीहरुलाई मदिराको प्रयोग नगर्न निर्देशन दिईएको बताउँनु भएको छ । प्रशासनको आग्रह बमोजिम मदिरा जन्य पदार्थको बिक्रि वितरण तथा सेवन नगर्न उहाँले सूचना मार्फत आग्रह गर्नुभएको हो । निर्वाचनलाई सभ्य र शान्त वातावरणमा सम्पन्न गर्नका लागि होटल व्यवसायीहरुले पनि दायित्व स्वरुप नियमको पालना गर्नु पर्ने महासचिव लामिछानेको भनाइ छ ।