वीरगन्ज,विद्युत् आपूर्तिमा बारम्बार हुदै आएको अवरोधले बारा(पर्साका उद्योगीहरु समस्यामा परेका छन । पटकपटक आग्रह गर्दा पनि नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति सुधार गर्न चासो नदेखाएको उद्यमीहरूले आरोप लगाएका छन् ।
प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका ठूला उद्योगमा विगत ३ दिनदेखि आपूर्ति नियमित नभएको उद्योगीहरूले बताएका छन् । विद्युत अनियमितताले यो प्रसारण लाइनबाट विद्युत् उपयोग गरेका कोरिडोरका करीव आधा दर्जन उद्योगको उत्पादन प्रभावित भएको छ । प्राधिकरणले नियमित रुपमा विद्युत् नदिएपछि उत्पादन गर्न नसकिएको एक उद्यागीले बताए । यो प्रसारण लाइनबाट धेरै ऊर्जा खपत गर्ने फलाम उद्योगहरूले आपूर्ति लिएका छन् ।
प्राधिकरणको वीरगन्ज वितरण केन्द्रका प्रमुख जीतेन्द्रकुमार झाले ६६ केभी प्रसारणको आपूर्तिमा समस्या आएको स्वीकार गर्नुभयो । प्राधिकरणको भारप्रेषण केन्द्रबाट यसबारेमा बुझ्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो ।
विगत डेढ महीनादेखि विद्युतको समस्या झेलिरहेका उद्योगीहरू प्राधिकरणविरुद्ध आक्रोशित बन्दै गएका छन । ‘प्राधिकरणको कमजोर पूर्वाधारका कारण ६६ केभीबाट आपूर्ति लिन आफ्नै खर्चमा सबस्टेसन बनाएका उद्योगले आपूर्ति समेत नियमित रुपमा पाएका छैनन्,’ एक उद्योगीले भने, ‘भारतलाई विद्युत् बेचिरहेको प्राधिकरणले स्वदेशका उद्योगलाई पर्याप्त आपूर्ति दिन नसक्नु लज्जाको विषय हो ।’
बढी विद्युत् खपत गर्ने ठूला उद्योगलाई प्राधिकरणले ६६ केभीभन्दा ठूला प्रसारण लाइनबाट विद्युत् दिने गरेको छ । प्रसारण लाइनबाट उद्योगसम्म विद्युत् पुर्याउन चाहिने आवश्यक सबै पूर्वाधार उद्योगले नै तयार गर्नुपर्ने हुन्छ ।
कोरिडोरमा विद्युत् आपूर्तिको समस्याबारे उद्यागीले वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीलाई पनि जानकारी गराएका छन् । संघका उपाध्यक्ष माधव राजपालले यसबारेमा पटकपटक प्राधिकरणको ध्यानाकर्षण गराए पनि सुधार नभएको बताउनुभयो ।
ऊर्जा अभावको कारण देखाएर प्राधिकरणले गत बैशाख दोस्रो साता उद्योगमा विद्युत् आपूर्ति बन्द गरेपछि कोरिडोरका उद्योगको उत्पादन करीब १ हप्ता बन्द भएको थियो । त्यसयता कोरिडोरमा विद्युतको नियमित आपूर्ति नभएको उद्योगीले बताए । उता नियमित विद्युत आपूर्ति भएको भनिएका उद्योग पनि न्यूनगुणस्तरको मारमा परेका छन् । यस्ता उद्योगले अहिले अघोषित लोडशेडिङ र ट्रिपिङको समस्यामा बेहोरिरहेका छन् ।
प्राधिकरणले बिना सूचना घण्टौं विद्युत् आपूर्ति बन्द गर्दै आएको छ । दिनहुँ ८÷१० पटकको ट्रिपिङले उद्योगको कच्चा पदार्थ खेर जाने, उपकरण बिग्रिने र गुणस्तरमा समस्या देखिएको भन्दै संघले नियमित र गुणस्तरीय विद्युतको माग गरेको छ ।
बारम्बार आग्रह गर्दा पनि प्राधिकरणले सेवामा सुधार नल्याएको भन्दै उद्यमी आक्रोशित देखिएका छन् । ‘आग्रह र अनुरोधको सुनुवाइ भएन । अब प्राधिकरणविरुद्ध आन्दोलनमै जानुपर्ने स्थिति बनिसकेको छ,’ संघका एक पदाधिकारीले भने ।
वीरगन्ज(परवानीपुर प्रसारण लाइनको क्षमता कमजोर भएकाले विद्युतको माग बढी भएका बेला बढी ट्रिपिङ हुने गरेको प्राधिकरणले बताउँदै आएको छ ।