सिमरा,बारा क्षेत्र नम्बर ४ का सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले नेपाल पत्रकार महासंघ बारा शाखामा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासंघ बारामा निर्वाचित पदाधिकारी र सदस्यलाई शुक्रवार जीतपुरसिमरा ४ स्थित निजी निवासमा सम्मान गर्दै पूर्वमन्त्री श्रेष्ठले उक्त घोषणा गर्नुभएको हो ।

श्रेष्ठले आफ्नो स्वर्गीय बुवा केवलबहादुर श्रेष्ठको स्मृतिमा क्षयकोष स्थापना गर्न लाग्नुभएको हो । अक्षयकोषबाट प्रत्येक वर्ष एक जना संचारकर्मीलाई पत्रकारिता पुरस्कार प्रदान गर्न समेत पुर्वमन्त्री श्रेष्ठले आग्रह गर्नुभएको छ । श्रेष्ठले यसअघि तनहुँमा समेत स्वर्गीय बुवाको नाममा एक लाखको अक्षय कोष स्थापना गर्नुभएको थियो । सो अक्षयकोषबाट हालसम्म तनहुँका तीन जना पत्रकार पुरस्कृत भईसकेका छन् । कार्यक्रममा पूर्वमन्त्री श्रेष्ठले पत्रकार महासंघको पूर्वाधार निर्माण र पत्रकारको हकहितका लागि आफूले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

सो क्रममा श्रेष्ठले हालै सम्पन्न निर्वाचनबाट विभिन्न तहमा निर्वाचित पदाधिकारी, सदस्यलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले सम्मानका लागि धन्यवाद व्यक्त गर्दै उक्त अक्षयकोषबाट प्रत्येक वर्ष पत्रकारलाई पुरस्कृत गर्ने जनाउनुभएको छ । पत्रकार महासंघलाई व्यवस्थितरुपमा संचालन गर्नका लागि आफूले काम शुरु गरेको पनि अध्यक्ष सुवेदीले बताउनुभयो ।

Leave a Reply