कलैया,जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाउनुभएको छ ।बाराको कलैयामा जसपाले आयोजना गरेको विस्तारित बैठकलाई शनिवार सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले संघीयताका लागि पहलकदमी गर्ने पार्टी खासगरी तत्कालीन मधेसी जनअधिकार फोरम र हाल जनता समाजवादी पार्टीलाई कमजोर पारी मुलुकबाट संघीयता नै समाप्त पार्ने खेल भइरहेको टिप्पणी गर्नुभयो ।उहाँले राज्यबाट आन्दोलनको क्रममा भएका सबै खाले घटना, राजनीतिक मुद्दा फिर्ता लिइसकेको विषयलाई उजागार गरी आफू र जनता समाजवादी पार्टीलाई लक्षित गरी गौर घटना पुनः कोट्याएको बारेमा तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो ।तराई मधेसमा मधेसी समुदायको संख्या ५३ प्रतिशत रहे पनि वर्तमान सरकारले १३ प्रतिशत मात्र बजेट दिएर मधेसप्रति विभेद र अन्याय गरेको भन्दै अध्यक्ष यादवले अधिकारका लागि सबै मधेसी जनता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष यादवले पार्टीलाई मजबुत बनाएर नयाँ शिराबाट अगाडि बढाउन टोल–टोलमा संगठन विस्तारको काममा जुट्न नेता एवं कार्यकर्तालाई निर्देशन दिनुभयो ।पार्टीका जिल्ला अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव, राजनीतिक समितिका सदस्य, प्रदेशका पदाधिकारी, जिल्लास्तरीय, क्षेत्रस्तरीय नेताको सहभागिता थियो ।
















