वीरगञ्ज –  पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर)) प्रदीप पौडेलसहित आठ जना वीरगञ्ज महानगरपालिका– १४ गण्डकस्थित सोल्टी वेस्टेन्ड वीरगञ्ज होटेलमा रहेको गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) बाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिवार राति क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउँदै/ खेलिरहेको सूचना प्राप्त भएपछि विशेष अप्रेसन सञ्चालन गरिएको थियो । प्रहरीका अनुसार राति करिब १२ः३० बजे क्यासिनोभित्र जुवा खेलिरहेको अवस्थामा चार जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले गाउँपालिकाका अध्यक्ष यादव, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर)) प्रदीप पौडेल, चन्दन सहनी र वीरगञ्ज महानगरपालिका– ११ का ओमप्रकाश बैठालाई नियन्त्रणमा लिएको हो । यसैगरी, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका चार जना कर्मचारीलाई समेत प्रहरीले पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज– १४ का विजयकुमार पटेल, वीरगञ्ज– २५ का दिनेश कुमार पटेल, महोत्तरी पिपरा– ५ का जयदेव साह र वीरगञ्ज– १२ का प्रदेशी साह रहेका छन् ।

प्रहरीका अनुसार अध्यक्ष यादव सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका हुन् । क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको नाममा रहेको सरकारी सवारीसाधनसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता, अध्यक्ष यादवले भने आफू जुवा खेल्न नगएको दाबी गर्नुभएको छ । उहाँका अनुसार साथीहरूसहित सोल्टी वेस्टेन्ड वीरगञ्ज होटेल पुगेको र स्वीमिङ पुल क्षेत्रमा बसेर खानपिन मात्रै गरिएको हो । “रक्सी खाएको छैन, तास खेलेको छैन, क्यासिनोमा जुवा खेल्ने त सवालै छैन,” उहाँले भन्नुभयो, क्यासिनो “हेर्ने उत्सुकता”का कारण केही समयभित्र प्रवेश गरेको मात्रै हो ।”

क्यासिनो सञ्चालक युवराज अधिकारीले पनि गाउँपालिका अध्यक्ष यादवसहितको टोली क्यासिनोका खेलाडी नभएको दाबी गर्दै घटनाको सूक्ष्म अनुसन्धान आवश्यक रहेको प्रतिक्रिया दिनुभएको छ । यसैबिच, स्रोतका अनुसार यादव क्यासिनो प्रवेश गरेको भिडियो बाहिरिएपछि अप्रेसन भएको दाबी गरिएको छ । तर यस विषयमा प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार घटनाबारे सिसिटिभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ । होटेल प्रवेशदेखि क्यासिनो क्षेत्रमा भएको गतिविधिसम्मको ‘मुभमेन्ट’ अध्ययन गरेर नेपाली नागरिकले जुवा खेले÷नखेलेको र कर्मचारीको भूमिकाबारे निष्कर्ष निकालिने प्रहरीले जनाएको छ ।

पक्राउ परेका गाउँपालिकाका अध्यक्ष यादवसहित ८ व्यक्तिउपर अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात आवश्यक कानुनी कारबाहीमा अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मल्लले बताउनुभएको छ । फोटो पनि छ । एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर भनेर लेख्नुहोला है ।

Leave a Reply