निजगढ,बाघले चौपाया मारेर क्षति गरेपछि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले रतनपुरी क्षेत्रको जंगलमा बिहीवार क्यामरा ट्यापिङ्ग जडान गरेको छ ।निरन्तर निगरानी गरेर गतिविधि बुझ्न र क्षति न्यूनीकरण गर्न पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले बाघको अति प्रकोप देखिएको २ वटा स्थानको जंगलमा क्यामरा ट्यापिङ्ग सिस्टम जडान गरेको हो ।‘बाघको अवस्था बारे जानकारी लिने उद्देश्यले प्रकोप बढी देखिएको स्थानमा क्यामारा राखिएको छ, निकुञ्जका सहायक वार्डेन सन्तोष भगतले भन्नुभयो, २÷३ दिनसम्म क्यामरामार्फत निरन्तर निगरानी गरिने छ ।’ चौपाय खाने बाघ घाइते पनि हुनसक्ने र त्यस्तो अवस्थामा नियन्त्रणमा लिएर उपचार गर्नुपर्ने उहाँले बताउनुभयो । घाइते बाघ आक्रमक हुने र सोही कारणले चौपाय मार्ने क्रम बढेको हुनसक्ने उहाँको भनाई छ ।पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने रतनपुर र लालगाउँमा पछिल्लो एक साताभित्र बाघले स्थानीय किसानको बाख्रासहित १७ वटा चौपाय मारेको छ । बाघले निजगढ नगरपालिका वडा नम्बर १० र ११ मा पर्ने लालगाउँ र रतनपुर क्षेत्रका किसानको चौपाय मारेको हो । बाघले बुधवार दिउसो स्थानीय ठुलोकान्छा श्रेष्ठसहित ३ जना किसानको १२ वटा बाख्रा एकैपटक मारेर खाएको थियो । रतनपुरी गाउँबाट पूर्वतर्फको जंगलमा चरिचरणमा लगिएका बाख्राहरु बाघले मारेको थियोे ।बाघले गोठमा बाँधेको र चरिचरणको लागि जंगल लगेको चौपायसमेत मारेर खाने थालेपछि स्थानीय त्रसित हुदैआएका छन । उनीहरुले बाघ नियन्त्रणको लागि निकुञ्ज कार्यालयसंग माग पनि गरेका छन ।
यसैबीच पर्सा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा वन्यजन्तले चौपाय मार्ने क्रम बढेपछि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले पीडित किसानलाई क्षेतिपूर्ति उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.सिन्धुप्रसाद ढुंगानालाई स्वकीय सचिव दामोदर मैनालीमार्फत पत्रबुझाएर सांसद मैनालीले यस्तो आग्रह गर्नुभएको हो । किसानले पालेको चौपाया मारेर खान थालेपछि सर्वसाधारणले समेत असुरक्षित महशुस गरिरहेको बेलामा सांसद मैनालीले वन्यजन्तुको नियन्त्रण पीडित किसानलाई यथाशीघ्र उचित क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।बस्तिमा बाघको आतङ्ग रोक्न विशेष अभियान चलाउन आग्रह गरिएको सांसद मैनालीका स्वकीय सचिव दामोदर मैनालीले जानकारी दिनुभयो । संघीय सांसद मैनालीले भविष्यमा मानवीय क्षति लगायत अन्य क्षति हुन नदिन विभागले कार्ययोजना तयार गरि अगाडि बढनुपर्नेमा समेत जोड दिनुभएको छ ।निजगढ नगरपालिकाले पनि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयसंग पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन बुधवार नै माग गरेको छ ।



















