बसन्त लामा
सिगौंल,रासायनिक मल नपाउँदा धान उत्पादनमा कमी आउन सक्ने भन्दै निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ मा पर्ने सिंगौलका किसान चिन्तित भैरहेको बेला सोमवार सिंगौलमा रहेका सहकारी संस्थाहरुले युरिया मल स्थानीय किसानलाई वितरण गरेकाछन ।
सहकारी संस्थाहरुले वडा अध्यक्षहरुको रोहबरमा मल वितरण गरेका हुन । पाथिभरा सहकारी सस्थाले वडा नम्बर २ र निजगढ तरकारी तथा फलफुल उत्पादन सहकारी सस्थाले वडा नम्बर १ का किसानलाई मल वितरण गरेको हो । यसअघि सहकारी संस्थामार्फत वितरण गरिएको सरकारी अनुदानको युरिया मल प्रतिबोरा ८ सय ७० मा किसानलाई बिक्री गरिएको भए पनि सोमवार वितरण भएको मलमा भने किसानसंग प्रतिबोरा ८ सय ९० लिइएको छ ।
परम्परागत धान खेती गरिरहेका किसानहरुलाई प्राथमिकतामा राखेर सहकारी संस्थाहरुले युरिया मल वितरण गरेका छन । कृषि सामग्री संस्थानले उपलब्ध गराएको रासायनिक मल पर्याप्त नभएपछि धान, मकै र केरा बालीमा प्रयोग गर्न किसानलाई समस्या परेको थियो ।
संस्थानको अनुदानको मल नपाएपछि स्थानीय किसानले व्यापारीहरुले भारतबाट लुकिछिपी ल्याएको युरिया मल प्रतिबोरा २ हजार ६ सयसम्ममा खरिद गर्दै आएका थिए । नेपाल सरकारले समयमा नै किसानलाई रासायनिक मल उपलब्ध गराउन नसक्दा सिंगौलमा धान उत्पादनमा कमी आउने भन्दै किसानहरु चिन्तित बन्दै आएका छन । सिंगौलका किसानले अझै पनि आवश्यकताअनुसारको रासायनिक मल पाउँन नसकेको स्थानीयले गुनासो गरेका छन ।