नरेश गुप्ता

बरियारपुर,बाराको भारतीय सिमावर्ति दक्षिणी भेगमा अवस्थित देवताल गाउँपालिकाले छोरी बुहारी शिक्षा कार्यक्रम संचालनमा आएको छ । बेलायत सरकारको सहयोगमा संचालित आरम्भ परियोजनाको मोडेललाई परिमार्जन गरी गाउँपालिकाले आफ्नै स्रोत साधनको प्रयोगबाट ‘छोरी बुहारी शिक्षा’ कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष चन्दन सिंहले जानकारी दिनु भयो ।

शिक्षा पाउने अधिकारबाट पालिकाका भित्रका कोहि पनि बंचित हुन नपरोस भन्ने उद्देश्यले छोरी बुहारी शिक्षा कार्यक्रम संचालनमा ल्याइएको अध्यक्ष सिंहले बताउनु भयो । विद्यालय बाहिर रहेका १८ देखि ३० वर्षका उमेर समुहका महिलाहरुलाई अनौपचारिक शिक्षा प्रदान गरिने सो कार्यक्रम संचालनको लागि गाउँपालिकाले आवश्यक स्रोत साधनको व्यवस्था मिलाएको छ ।

नेपाल सरकारले युनिसेफको संहयोगमा बारा जिल्लाका १६ स्थानीय तहले छोरी बुहारी कार्यक्रमको साथै किशोरी शिक्षा कार्यक्रम पनि संचालन गर्दै आएका छन । किशोरी शिक्षा कार्यक्रम पनि शिक्षाको पहुँचबाट टाढा रहेका किशोर किशोरीहरुलाई लक्षित गरी संचालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले जानकारी दिनु भयो । किशोरी शिक्षा पालिकाका सबै वडामा संचालनमा रहेको र प्रभावकारी देखिएको उहाँले बताउनु भयो ।

छोरी बुहारी शिक्षाको लागि ‘पिपुल इन नीड’ ले स्थानीय सरकारलाई कार्यक्रम डिजाइनमा सहयोग गर्नुका साथै परियोजनाका आवश्यक स्रोत, सामग्री र सहजकर्ताहरूको लागि क्षमता अभिवृद्धिका तालिमहरु सञ्चालनमा सहयोग गर्दै आएको छ ।

देवताल गाउँपालिकाले महिला शिक्षाको लागि संचालन गरेको यो कार्यक्रमले पालिकामा निक्कै प्रशंसा पाएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here