काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध रहेको एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति चुनावमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो । आठ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति चुनावमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।उहाँका अनुसार बैठकमा देशमो पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भए पनि सरकारमा जाने विषय भने प्रवेश गराइएन । सरकारमा जाने विषयमा पार्टी सकारात्मक भए पनि समय आइनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाइ थियो ।उहाँले भन्नुभयो, ‘आठ दलका राष्ट्रपति पदका साझा उम्मेदवार रामचन्द्र पौडेलज्यूलाई हाम्रो पार्टीले मतदान गर्ने निर्णय गरेको छ । सरकारमा जाने विषयमा सकारात्मक छौँ । त्यसमा जाने बेलामा हामी छलफल गर्छाैँ ।’

राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ । त्यसका लागि कांग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिनुभएको छ भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बन्नुभएको छ ।

Leave a Reply