आर.के. चौधरी

सखुवाप्रसौनी ।  पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–१ मा भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई शनिबार लालपुर्जा वितरण गरिएको छ। भूमि समस्या समाधान आयोग, पर्साले आयोजना गरेको कार्यक्रममा ४४ परिवारले कानुनी स्वामित्वसहितको लालपुर्जा प्राप्त गरेका छन्।

प्राप्तकर्तामध्ये ३७ जना दलित तथा सुकुम्वासी समुदायका सदस्य र ७ जना अव्यवस्थित बसोबासी रहेका छन्। लामो समयदेखि कानुनी स्वामित्वविनै बस्दै आएका परिवारहरूले पहिलोपटक आफ्नै नाममा लालपुर्जा पाउँदा आँखा रसाउँदै खुशी व्यक्त गरे।

आयोगका अध्यक्ष तवरेज अहमद ले भूमिहीनलाई जग्गा स्वामित्व दिनु सरकारको प्राथमिकता भएको भन्दै भने, “आजदेखि यी परिवारहरूको बसोबास कानुनी रूपमा सुरक्षित भएको छ। अब उनीहरूले सरकारी सुविधा, कृषि र व्यवसाय सञ्चालनमा सहजता पाउनेछन्।”

गाउँपालिकाका अध्यक्ष यसवन्त यादव ले बाँकी पात्र परिवारलाई पनि चरणबद्ध रूपमा लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाउँदै यो कदमलाई ऐतिहासिक उपलब्धि भने।

लालपुर्जा पाएका दलित तथा सुकुम्वासी परिवारले यस दिनलाई “नयाँ जीवनको सुरुवात” भन्दै उत्सवजस्तै मनाए। स्थानीय सरोकारवालाहरूले यो कदमले भूमिहीन मात्र होइन, राज्य र नागरिकबीचको विश्वासलाई अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।

कार्यक्रममा गाउँपालिका वडा नं. १ का अध्यक्ष बासुदेव महतो तथा सदस्यहरूको पनि उल्लेख्य उपस्थिति थियो।

Leave a Reply