रौतहट, लगातारको अविरल वर्षासँगै आएको बाढीले रौतहट जिल्लामा व्यापक विनाश गरेको छ ।
जिल्लाको बागमती, लालबकैया र अन्य खोला नदीहरूमा आएको बाढीले १३ स्थानीय तहहरूलाई प्रभावित पार्दै १ हजार २ सय ४५ घर डुबानमा पारेका छन् । बाढीका कारण १ हजार ८ सय ५ परिवार विस्थापित भएका छन् भने हालसम्म तीन जनाको मृत्यु भएको छ ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका– ४ पचरुखीका ३५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । त्यस्तै, परोहा नगरपालिका– ७ नरकटीयाकी १४ वर्षीय आशाकुमारी साह घाँस काट्न जाँदा जमेको पानीमा डुबेर ज्यान गुमाएकी छन् ।बौधिमाई नगरपालिका– २ ईनरवाका १४ वर्षीय अनिल महतोको आफ्नै ट्युवेलमा पानी खान खोज्दा करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरी र स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा उद्धार प्रयासलाई तीव्र बनाउँदै १ सय २३ जनालाई सकुशल उद्धार गरेका छन् । साथै, ६ जना सामान्य घाइते भएको पुष्टि भएको छ । बाढीको प्रकोपबाट भागेर धेरैले अस्थायी शिविरमा शरण लिएका छन्, जहाँ उनीहरूलाई खाद्यान्न र अन्य अत्यावश्यक सामग्री वितरण गरिँदै छ ।

रौतहट जिल्लामा विशेष गरी वृन्दावन, गढीमाई, माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही, कटहरिया नगरपालिका, दुर्गा भगवती र यमुनामाई गाउँपालिकाहरू अत्यधिक प्रभावित भएका छन् । बाढीका कारण सडकहरू अवरुद्ध भएका छन् भने, बाँधहरूमा समेत क्षति पुगेको छ ।रौतहट मात्र नभई नेपालका विभिन्न भूभागहरूमा बाढीको कहर फैलिएको छ । काठमाडौँ उपत्यका लगायतका स्थानहरूमा भारी वर्षाले बाढीको अवस्था निम्त्याएको छ, जसले गर्दा सडकहरू जलमग्न भएका छन् । देशभर हालसम्म ११२ जनाको मृत्यु भएको खबर आएको छ, र धेरै भौतिक सम्पत्ति नष्ट भएको छ ।

नेपाल सरकार र स्थानीय प्रशासनले राहत वितरण र उद्धार कार्यलाई प्राथमिकता दिइरहेका छन्, तर अझै पनि धेरै परिवार बाढीको चपेटामा छन् । लामो समयसम्मको भारी वर्षा र बाढीले कृषि, पूर्वाधार र जनजीवनमा गहिरो प्रभाव पारेको छ ।
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि सेना, प्रहरी र स्थानीय स्वयंसेवकहरूको टोली खटाएको छ । बाढीग्रस्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न, अस्थायी बसोबासको व्यवस्था मिलाउन र स्वास्थ्य सेवामा सुधार ल्याउन तीव्र कदम चालिँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here