कृष्णउदास खनाल
वीरगञ्ज,मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जबाट गएको आर्थिक वर्षमा ६६ करोड मूल्य बराबरको धान आयात भएको छ ।नेपाल कृषि प्रधान देश भएपनि खाद्यान्नमा नेपाल अझै परनिर्भर रहेको यो तथ्यले पुष्टी गरेको छ । गएको आर्थिक वर्ष २०७९।०८० मा वीरगञ्ज भन्सारको बाटो भएर ६६ करोड, ४० लाख ७७ हजारको धान आयात भएको छ । यो आयात अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी हो ।अघिल्लो आर्थिक वर्ष २०७८।०८९ मा जम्मा ३१ करोड, ५५ लाख ६३ हजारको धान आयात भएकोमा गएको आर्थिक वर्षमा दोब्बर बढीले धानको आयात बढेको हो । गएको आर्थिक वर्षको असार मसान्तमा मात्रै वीरगञ्ज भन्सार नाकाबाट ७ करोड, ८ लाख,९०२ हजारको धान आयात भएको वीरगञ्ज भन्सार कार्यालयको अभिलेखमा उल्लेख छ । यद्यपि अघिल्लो आर्थिक वर्ष २०७८।०७९ मा भने असारमा जम्मा २७ लाख ८ हजारको मात्रै धान आयात भएको थियो ।धानको तुलनामा चामलको आयात भने वीरगञ्ज भन्सार नाकाबाट घटेको छ । गएको आर्थिक वर्षमा यो नाका भएर ३२ करोड, २८ लाख ९० हजारको चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चामल भने गत आर्थिक वर्षमा घटेको हो । अघिल्लो आर्थिक वर्षमा भने ३६ करोड, ६ लाख ८६ हजारको चामल आयात भएको थियो । गएको आर्थिक वर्षको असार महिनामा मात्रै वीरगञ्ज नाका भएर २ करोड, २८ लाख ८६ हजारको चामल आयात भएको थियो भने अघिल्लो आर्थिक वर्षको असारमा पनि २ करोड, ३१ लख ६९ हजारको चामल आयात भएको थियो ।धान चामलसंगै वीरगञ्ज भन्सारबाट गएको आर्थिक वर्षमा ६६ करोड, ४० लाख ७ हजारको मकै आयात भएको छ । मकैको आयात पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको हो । अघिल्लो आर्थिक वर्षमा २२ करोड, ३५ लाख, ८३ हजारको मकैं आयात भएको थियो ।यो नाका भएर आयात हुने चौंथो नम्बरमा फापर, कोदो लगायतका खाद्यान्न रहेका छन । गत आर्थिक वर्षमा ३२ करोड, २८ लाख, ९९० हजारको फापर र कोदो आयात भएको थियो भने यो नाका भएर गत आर्थिक वर्षमा २१ करोड, ८६ लाख १८ हजारको गहुँ आयात भएको छ ।यसरी नै २ करोड, ९६ सय १९ हजारको कनिका र ११ करोड, २५ लाख, ५२ हजारको जुनेलो तथा जौ आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्गमा उल्लेख छ ।


















