राजन कुमार बानिया
पोखरिया,पोखरिया नगरपालिकाका नगर प्रमुख दीपनारायण रौनियारलाई विभिन्न माग राख्दै पोखरिया युवा समाजले आइतबार ज्ञापनपत्र बुझाएको छ ।
नगरपालिका कार्यालयमा पछिल्ला आर्थिक वर्षमा विभिन्न शीर्षकमा भएको बेथिति र भ्रष्टचारबारे उजागर गर्न माग राख्दै पोखरिया युवा समाजले ९ बुंदे ज्ञापनपत्र बुझाएको हो । नगरपालिकामा भएको फर्जी टेन्डर र भ्रष्टाचारलाई पारदर्शी रुपमा जानकारी गराउन माग राख्दै ज्ञापन पत्र बुझाईएको पोखरिया युवा समाजले जनाएको छ ।
ज्ञापन पत्रमा नगरपालिकामा फर्जी रुपमा भएको सम्पुर्ण टेण्डरको कागजपत्र पारदर्शी गर्न, जिल्ला उचांगल राष्ट्रिय माध्यमिक विद्यालय पोखरियाको स्वागत तथा प्रधानाध्यापकको समस्या समाधान गर्न, हरेक वडामा बिग्रिएको सडक तुरुन्त मर्मत सम्भार गर्न, पोखरिया नगरपालिकाको कार्यालयले दिने सम्पुर्ण आर्थिक तथा प्रशासनिक सेवा कार्यालयभित्रबाट दिने व्यवस्था गर्न, पोखरिया अस्पतालको समस्या समाधान गर्न, कृषिको बजेट पारदर्शी गर्न, बजार व्यवस्थापन चाँडै भन्दा चाँडै गर्न, कर्मचारीको नियुक्ति प्रक्रिया सार्वजनिक गर्न र २०७७ र ०७८ सालको आय व्यय पारदर्शी गर्न माग राख्दै ज्ञापनपत्र बुझाइएको पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तत्वाले बताउनुभयो । ज्ञापन पत्रमा उल्लेखित माग यथाशिघ्र उपलब्ध नगराए चरणवद्धरुपमा आन्दोलनमा जाने चेतावनी दिइएको पोखरिया युवा समाजका अध्यक्ष तत्वाले बताउनुभयो ।