कलैया,कृषिलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्य राखेर स्थापना भएको कनेक्ट किसान नामक संस्थाले गढीमाई मेलामा ‘कृषि एक्स्पो’ आयोजना गर्ने भएको छ ।कलैयामा बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले मंसिर १८ गतेदेखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ आयोजना गर्ने जानकारी दिएको हो ।
लाखौंको संख्यामा दर्शनार्थीको उपस्थिति रहने मेलाको सदुपयोग गर्न र कृषिमा निर्भर किसानलाई आधुनिक कृषितर्फ उन्मुख गराउनका लागि एक्स्पो आयोजना गर्न लागिएको एक्स्पोकी संयोजक सञ्चिता लामिछानेले जानकारी दिनुभयो । एक्स्पोमा कृषिसंग सम्बन्धित ज्ञान, सीप र प्रविधिको प्रदर्शनी गरिनेछ ।
तराईको उर्वर भूमिमा खेतीकिसानी गर्दै आएका किसानलाई कृषिको विषयमा आवश्यक जानकारी गराउने उद्देश्य एक्स्पोले लिएको लामिछानेले बताउनुभयो । दुई लाखभन्दा किसानले एक्स्पोको अवलोकन गर्ने र १५ करोडको कारोवार हुने अपेक्षा आफूहरुले गरेको लामिछानेको भनाई छ ।करिब दुई बिगाह क्षेत्रमा आयोजना हुने एक्स्पोमा एक सय ५० भन्दा बढी कृषि स्टलहरु रहनेछन् । मेला व्यवस्थापन समितिले एक्स्पोका लागि उक्त जग्गा निःशुल्क उपलब्ध गराएको छ ।















