काठमाण्डौ – १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीलाई आइतवार भएको तेस्रो खेलमा १ सय २१ रनले हराएको छ ।नेपाली युवा टोलीले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली ४० ओभर २ बलमा १ सय ६१ रनमा अलआउट भयो । कर्नाटकका गगन रावले सबैभन्दा धेरै ४६ रन बनाए । नेपालका नरेन साउदले ४, युवराज खत्रीले ३ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रन बनायो । नेपालकातीन जना खेलाडीले अर्धशतक बनाए । रोशन बिकेले नटआउट ८१, मयन यादवले ५८ र उत्तम थापा मगरले ५२ रन बनाए । कर्नाटकका लोहिथ र वासुले २-२ विकेट लिए ।

योसँगै पाँच खेलको शृङ्खलामा नेपालले अग्रता लिएको छ । पहिलो खेलमा कर्नाटक विजयी भएको थियो भने भने दोस्रो खेल नेपालले जितेको थियो ।नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेलिरहेको हो । यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ ।

Leave a Reply