काठमाण्डौ – नेपालको आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना अपूरै रहेको छ । मङ्गलवार भएको आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६८ रनले हारेसँगै नेपालको सपना अपूरै रहेको हो ।

अल अमिरात क्रिकेट मैदानमा यूएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै एक सय सात रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८ र ज्ञानेन्द्र मल्लले २० रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । आशिफ शेख र लोकेश बम शून्यमै आउट भए ।
बलिङतर्फ यूएईका अहमद राजाले पाँच विकेट लिए । उनी चार ओभरमा १९ रन दिँदै पाँच विकेट लिन सफल भए । यस्तै जुनाइद सिद्दिकीले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो । यूएईका लागि मुहम्मद वसीमले ७० र विर्त्या अरविन्दले ४६ रन बनाए ।
बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले तीन–तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।
मंगलवार सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबर÷नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउने थियो । । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए ।
यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेको थियो । त्यसयता खेलेको चार वटा टी–२० विश्व कप छनोटमा नेपाल असफल हुँदै आएको छ ।


















