गएको हप्ता नेपाली महिला क्रिकेट टिमले इतिहास रच्न सफल भएको छ । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो । आईसीसी महिला यु–१९ महिला टी–२० विश्वकपमा नेपाल पहिलोपटक छनौट हुन सफल भएको छ । आगामी वर्षको जनवरी १८ बाट मलेसियामा हुने खेलमा नेपालले सहभागिता जनाउने भएको हो । खेल मैदान र हौसलाको अभावका बाबजुद पनि नेपाली चेलीहरुले खेलेको उत्कृष्ट खेलले नेपाल विश्वकप खेल्ने राष्ट्रको रुपमा छनौट भएको हो ।
सरकारको लगानी लगभग शून्यको अवस्था भए पनि नेपाल विश्वकपमा छनौट हुनुले नेपाल र नेपालीको शिर विश्वसामु ठाडो बन्दै गएको छ । गत बुधवार मलेसियासँग भएको अन्तिम छनौट खेलमा नेपालले सानदार प्रदर्शन गर्दै आफ्नो साख जोगाउन सफल भएको हो । विश्वकप छनौट खेलमा नेपाल र युएई आम्नेसाम्ने भएका थिए । लगातार ४ खेल जितेर १० अंकसहित शीर्ष स्थानमा रहेको युएईलाई हराउँदै नेपाल विश्व कपका लागि छनौट भएको हो ।
पछिल्लो समय नेपालमा खेलकुदका गतिविधि अघि बढे पनि सोचेजस्तो सफलता प्राप्त हुन नसकिरहेको परिप्रेक्ष्यमा नेपाली महिला क्रिकेट टोलीले दिलाएको सफलताले भने नेपाल र नेपालीले आफूलाई गौरवको महसुस गर्न थालेका छन् ।
आगामी वर्ष हुने विश्वकपका लागि नेपालले छनौटमा परेका खेलाडीलाई अझै परिस्कृत हुने गरी विश्वकपका लागि तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ । अबको तीन महिनापछि हुने विश्वकपमा नेपालको सशक्त उपस्थितिका लागि बन्द प्रशिक्षणका निम्ति तयारी गर्न नेपाल क्रिकेट संघले ढिलाइ गर्नुहुँदैन ।

















